जनकपुरधाम, बैशाख २५ गते :
धनुषाको हंसपुर नगरपालिकाको नगरप्रमुखका उम्मेदवार रामज्ञान मण्डलले घरदैलोको केही दिन मात्रै बाँकी रहेको समयमा गाउँ टोलमा गएर बृद्ध बृद्धाको आशिर्वाद थापेका छन् । घरदैलोका लागि नगर उपप्रमुखको उम्म्ेदवार दिपिका सदा संगै मत माग्न पुगेका मण्डलले मतदाताहरुको आशिर्वाद थाप्नुका साथै शुभेच्छा ग्रहण गरेका हुन् ।
हँसपुरका उम्मेदवार मण्डलले वडा नम्बर ५ बेल्ही र वडा नम्बर ६को सुगा निकास र टिल्हीमा घरदैलो सम्पन्न गरेका छन् । घरदैलोको क्रममा नगर विकासको अधूरा काम पूरा गर्नका लागि पुनः मत दिन मतदाताहरुलाई आग्रह गरे । निवर्तमान नगरप्रमुख समेत रहेका मण्डलले यस अघिको कार्यकालमा आफूले तयार पारेको विकासको खाका अनुसार काम सम्पन्न गर्नका लागि मतदाताहरुलाई पुनः मतदान गर्न आग्रह गरेका हुन् ।
मण्डलले नगरको दिर्घकालिन विकासका लागि यसअघिको कार्यकालमा बनाई सकेको र केही काम शुरु पनि भईसकेकाले ती कामहरु सम्पन्न गर्नकै लागि आफू पुनः नगरप्रमुखमा उम्मेदवारी दिएको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार रहेका मण्डलले हंसपुरको समस्या नजिकबाट बुझेको र त्यसलाई समाधान गर्ने सक्ने क्षमता आफूमा रहेको दावी गरे ।
घरदैलो कार्यक्रमको क्रममा मण्डलले आफ्नो पछिल्लो कार्यकालमा हंसपुर नगरपालिकालाई चिनाउने काम गरेको र अब बांकी रहेका योजनाहरुलाई पुरा गर्दै जनताको शिक्षादेखि रोजगारसम्मको नितीगत विकासको योजना कार्यान्वयनमा ल्याउने नगरवासीसँग प्रतिबद्धता जनाएका छन ।
उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । उनले भने ‘जनताको सेवामा आफु सधै लाग्नेछु, आफुले वाचा गरेका कुरा पुरा गर्नेछु, बोलेर होइन काम गरेर देखाउँछु ।’ राजनीतिलाई सेवाको रुपमा लिने निर्वतमान मण्डल भन्छन् ‘म जनताको सेवाका लागि आएको हुँ, म जनताको सेवक हो ।’