जनकपुरधाम, बैशाख २३ :
धनुषाको हंसपुर नगरपालिकाकालागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नगरप्रमुखका लागि उम्मेदवारी दिएका रामज्ञान मण्डलले नगर भित्रै रोजगारी श्रृजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले साना तथा मझौला उद्योग नगरभित्रै स्थापना गरेर रोजगारी श्रृजना गर्ने बताए । नगरप्रमुख पदका उम्मेदवार मण्डलले बेरोजगारी समस्या समाधानका लागि सीपमूलक तालिमका साथै सहुलियत ऋणको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
शुक्रबार नगरपालिकको वडा नम्बर ८स्थित रमनगरा, झटियाहीमा उपप्रमुखका उम्मेदवार दिपिका सदा, वडा नम्बर ३को अध्यक्ष पदका उम्मेदवार उदय सिंह र वडा ८का अध्यक्ष पदको उममेदवार जिवछ मण्डलसहित घरदैलोमा पुगेका निवर्तमान नगरप्रमुख समेत रहेका मण्डलले मतदाताहरुलाई पुनः अवसर दिनका लागि आग्रह गरे । उनले टुक्रे योजनाहरुको काम पहिलो कार्यकालमा सम्पन्न गरिसकेको भन्दै अब नितीगत योजना बनाएर दिर्घकालिन विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मण्डलले बेरोजगारी समस्या समाधानका लागि युवा स्वरोजगार, सीपमूलक तालिम, नगरपालिकाबाट विभिन्न स– साना उद्योग स्थापना र सहुलियत दरमा ऋण उपलब्ध गराउने लगायतका व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
मण्डलले भने ‘शिक्षित युवाहरुका लागि नगरभित्रै विभिन्न निकाय स्थापना गरी रोजगारमा लगाउने, प्राविधिक शिक्षा हासिल गरेकाहरुलाई इन्जिनीयरिङ्ग वर्कसप, एप्लीकेशन निर्माण, हार्डवेयर सम्बन्धी कार्यमा लगाउने, वैदेशिक रोजगारमा जानेलाई स्थानीयस्तर सीपको व्यवस्था र सीप हासिल गरेकाहरुलाई सहुलियत दरमा ऋणको व्यवस्था लगायतका काम अगाडि बढाइनेछ ।