जनकपुरधाम, बैशाख २१ :
नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार रहेका शिवशंकर साह हिराले जनकपुरधामको सर्वांगिन विकासका लागि सल्लाहकार समितिको सुझाव अनुसार काम गर्ने बताएका छन् ।
जनकपुरधाम वडा नम्बर १२ कुवा रामपुर उपप्रमुख पदको उम्मेदवार रुना झासंगै घरदैलोका लागि पुगेका हिराले विज्ञहरुको टोली सहितको सल्लाहकार समिति बनाएर सर्वांगिन विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘शिक्षा, स्वास्थ्य, कृषि, भौतिक संरचना निर्माण लगायतको विकासका कामहरुका लागि सबै क्षेत्रका विशेषज्ञहरुको समेटेर सल्लाहकार समिति गठन गर्छु, सो समितिकै सल्लाह अनुसार काम गर्छु ।’
यस अघिका जनप्रतिनिहिरु कामभन्दा कमिशन तथा भ्रष्टाचार गर्नमै लिप्त रहेकाले बजेट हुँदा हुँदै पनि विकास हुन नसकेको उनले आरोप लगाए । तर यदि आफू नगरप्रमुखमा निर्वाचित भए जनकपुरधाम उपमहानगरको कार्यालय सहित उपमहागगर भित्र रहेका कार्यालयहरुमा भ्रष्टाचारीहरुकालागि कुनै ठाउँ रह्न नदिने प्रतिवद्धता व्यक्त गरे ।
हिराले चुनावी प्रचार प्रसारको क्रममा खेल क्षेत्रको विकासका लागि समेत योजनावद्ध ढंगले काम गर्ने बताए । युवाहरु कुलतको शिकार हुँदै गईरहेको समयमा खेलकुद क्षेत्रको विकासमा जोड दिदै जनकपुरधाममै स्टेडियम निर्माण गर्ने हिराको भनाई थियो । यसका साथै खेलाडीहरुलाई सम्मान तथा पुरस्कारको व्यवस्था समेत गरिने उनले बताए ।
नगरप्रमुखका उम्मेदवार हिराको उम्मेदवारीको समर्थनमा जनकपुरधाम उपमहानगर भित्र मोटरसाइकल रैली समेत निकालिएको थियो ।