जनकपुरधाम, बैशाख २० :
जनकपुरधाम उपमहानगरपालिकाको एमालेबाट नगरप्रमुख पदका उम्मेदवार शिवशंकर साह हिराले कृषिमा आधुनिकिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हिराले जनकपुरधाममा कृषिलाई आधुनिक प्रविधिसंग जोडेर रोजगारी श्रृजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ महुवा र भोइलमा एमालेबाट उपप्रमुख पदको उम्मेदवार रुना झासंगै घरदैलोमा पुगेका हिराले किसानले उत्पादन गरेको सामाग्रीको उचित मूल्य पाउन नसकेको समयमा हिराले कृषिलाई आधुनिक प्रविधिसंग जोडेर रोजगारी श्रृजना गर्ने बताए । उनले भने ‘किसानहरुले उत्पादन गरेको सामाग्री उचित मूल्य पाउन नसक्नुको मूल कारण विचौलियाहरुको आतंक हो, विचौलियाहरुको आतंकलाई समाप्त पार्नेछु ।’ उनले किसानहरुको उत्पादनलाई बजारसम्म पुर्याउन तथा उचित मूल्यको व्यवस्थापनका लागि पहल गर्ने बताए ।
घरदैलोको क्रममा उनले मतदाताहरु समक्ष सामाजिक सुरक्षा भत्ता सहज र सुलभ रुपमा वितरणको व्यवस्था मिलाउने बताए । उनले भने ‘अहिले बृद्ध बृद्धाहरुले पाउने सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार रुपैयाँलाई समन्वय गरेर ५ हजार पुर्याउन पहल गर्नेछु ।’ उनले सामाजिक सुरक्षा भत्ताका लागि अहिले जसरी समस्या भोग्नु परिरहेको छ त्यस्तो समस्या अब भोग्नु पर्दैन् । आफू निर्वाचित भए वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको सम्पूर्ण व्यवस्था मिलाउने छु ।