जनकपुरधाम, बैशाख १९ :
नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जनकपुरधाममा रहेका मठ मन्दिरलाई व्यवस्थित गरेर पर्यटकहरुलाई आकर्षित गर्ने हिसाबले जनकपुरधामको विकास गर्नका लागि आफूले योजना बनाएर काम गर्ने प्रतिवद्धता व्इक्त गरे । घरदैलोको क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवास्थित कुपेश्वरनाथ महादेवको दर्शन पश्चात मतदाताहरुसंग कुरा गर्दै हिराले आफू नगरप्रमुखमा निर्वाचित भए जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकासका लागि पहल गर्ने बताए । यसका साथै जनकपुरधामको पौराणिक एवं ऐतिहासिक मन्दिरहरु मध्ये एक कुपेश्वरनाथ मन्दिरलाई समेत व्यवस्थित गर्न तर्फ कुवाका मतदाता समक्ष वचनवद्धता व्यक्त गरे ।
यस अघि यहाँ शिक्षा स्वास्थ्यको नाममा लाखौँ करोडौँ रुपैयाँको भ्रष्टाचार भएको भन्दै हिराले आफु निर्वाचित भएपछि जनकपुरधाम उपमहागरपालिकालाई भ्रष्टाचार मुक्त बनाएरै छोड्ने बताए । भ्रष्टाचार मुक्त अभियानको शुरुवात उपमहानगरको कार्यालयबाटै गरिने उनको भनाई थियो ।
उनले वडामा निःशुल्क एम्बुलेन्स क्लिनिक संचालन गर्ने भन्दै भने, ‘जुन क्लिनिकमा उपचार सहित निःशुल्क प्याथलोजीको व्यवस्था रहनेछ ।’ हिराले सामुदायिक विद्यालय र कलेजलाई स्मार्ट स्कूल र कलेजको रुपमा रुपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको बताए ।