जनकपुरधाम, वैशाख १७ :
नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्ने प्रतवद्धता व्यक्त गरेका छन् । जनकपुरधाममा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले दिएका मठ मन्दिरलाई व्यवस्थित गर्नुका साथै सौन्दर्यीकरणमा जोड दिनु आवश्यक रहेको बताए ।
यद्यपि यस अघि मठ मन्दिरको जग्गा अतिक्रणका साथै भ्रष्टाचार समेत भएकाले त्यसलाई निर्मूल पार्न आफूले काम गर्ने बताए । जनकपुरधाम हिन्दुहरुको आस्थाको केन्द्र रहेकाले आफू निर्वाचित भए विश्वभरीका हिन्दुहरुलाई जनकपुरधामसंग जोड्नका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बेंगा शिवपुर र वडा नम्बर ७मा एमालेको उपप्रमुखको उम्मेदवार रुना झासंगै घरदैलोमा पुगेका हिराले ग्रामीण वडाहरुको विकासका लागि विशेष पहल गर्ने जानकारी दिए ।
उपप्रमुखको उम्मेदवार झाले उपप्रमुखको अधिकार क्षेत्र अन्तर्गत रहेको न्यायिक समितिलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरिन् । उनले पालिकाहरुमा कानूनी ज्ञानको अभावमा उपप्रमुखहरु न्यायिक समितिहरु प्रभावकारी हुन नसकेकाले त्यसलाई प्रभावकारी बनाएर जनतालाई न्यायको प्रत्याभूति गराउने हरसम्भव प्रयास गर्ने बताइन् ।
घरदैलोमा एमालेको प्रमुख तथा उपप्रमुखको उम्मेदवारसंगै एमालेका नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।