जनकपुरधाम, वैशाख १५ :
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा फेरी सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का नेता लालकिशोर साहले उम्मेदवारी दिएका छन् । साहले आफ्नो प्रतिवद्धताका साथै आफूले गरेका कामहरुको फेहरिस्त सार्वजनिक गरेका छन् । तर उनले सुनाएको फेहरिस्तलाई झुठको पूलिन्दाको संज्ञा स्थानीयहरुले दिएका छन् ।
गठबन्धनका उम्मेदवार लालकिशोरले उपमहानगरपालिकाले गर्दै नगरेको कामको जस लिन आफ्नो कार्यकालमा भएको दावी गरेका छन् । उनले मधेश प्रदेशको राजधानी जनकपुरधाम बनाउन आफूले निरन्तर पहल गरेको झुठ सुनाउनपनि पछाडी परेनन् । जबकि प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभाको अधिकार हुन्छ । प्रदेशसभाका प्रदेशसभा सदस्यहरुले नै मधेश प्रदेशको राजधानी जनकपुरधामलाई तोके ।
उनको ५ वर्षे कार्यकालको उपलब्धिमा शहीद गेटलाई समेत राखिएको छ । जबकि शहीद गेट निर्माणको टेण्डर प्रकृयामै अनियमितता भएको प्रतिवेदन महालेखा परिक्षणको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
गठबन्धनबाट उपमेयरका प्रत्याशी रहेका नेपाली कांग्रेसका किशोरी साहलाई सँगै राखेर बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आत्यिनाथको भ्रमणलाई आफ्नो कार्यकालको उपलब्धिको रूपमा शामिल गरेका छन् । ‘आफ्नै कार्यकालमा छिमेकी मुलुक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमण गराउन सफल भएकोमा आफूलाई भाग्यमानी ठानेका छु,’ उनले भने ।
जबकि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नाममा जनकपुरधाम उपमहानगरपालिकामा चरम भ्रष्टाचार भएको आरोप छँदैछ । उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई उपलब्धीको रुपमा त गनाए तर भ्रमणको नाममा भएको खर्च भने ५ वर्षे कार्यकालको अवधीमा सार्वजनिक गर्न सकेनन् ।
आफ्नो पाँच वर्षको कार्यकालमा साहले जनकपुरधामको फोहोर व्यवस्थापन गर्न नसकेको स्थानीयवासीहरूको आरोप छ । जनकपुरधामको प्रमुख चुनौतीको रूपमा रहेको फोहोर व्यवस्थापन यसपटकको स्थानीय चुनावमा प्रमुख मुद्दा बन्ने फेरी देखिएको छ । तर, साहले भने जनकपुरधामलाई विगतको तुलनामा सफा राख्न आफूहरू सफल भएको दाबी गरे ।
उनले फोहोर व्यवस्थापनका लागि ‘सोलिड वेस्ट मेनेजमेन्ट’ को डिपिआर तयार भइसकेको र आगामी कार्यकालको पहिलो प्राथमिकता रहने बताए । तर फोहोर व्यवस्थापनको नाममा करोडौ खर्च भएपनि नगरको बिच भागमै उपमहानगरको स्वामीत्वमै रहेको अतिथि गृहमा गत वर्षदेखि नै फोहोर जम्मा गर्दै आईरहेका छन् ।
साहले जनकपुरधामका मठमन्दिर, गुठी तथा सार्वजनिक सम्पदाहरूको संरक्षण र सम्वद्र्धनलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जबकि उपमहानगरले नै उपमहानगर भित्र रहेको पोखरी अतिक्रमणदेखि, कुट्टीको जग्गा अतिक्रमण सक्रियता देखायो ।