जनकपुरधाम, वैशाख १४ :
नेकपा एमालेका सचिव रघुवीर महासेठले एमाले नेतृत्वको सरकारले मुलुकमा विकासको लहर ल्याएकाले फेरी एमालेलाई विजयी बनाउन आग्रह गरेका छन् ।
जनकपुरधाममा आयोजना गरिएको वडा नम्बर १३को वडा प्रचारप्रसार कार्यालयको उदघाटन तथा चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले आफनो पार्टीले देशमा समृद्धि ल्याउनका लागि काम गरेको दावी गर्दै फेरी एमालेलाई अवसर दिन आग्रह गरे । एमालेलाई मधेस विरोधी दलको रुपमा प्रचार गरिएपनि केपी ओली नेतृत्वको सरकारले मधेश विकासका लागि गम्भिरतापूर्वक काम गरेको महासेठले दावी गरे । महासेठले मधेसको रेल्वे देखि हुलाकी सडकको विकास र विस्तारमा आफनो पार्टी नेतृत्वको सरकारले सम्भव भएको बताए । उनले स्थानिय तहमा आफनो पार्टी निर्वाचित भए विपन्न वर्गको घरमा शौचालय र धारा लगाउने प्रतिवद्धता व्यक्त गरे । महासेठले ढल्केवरदेखि जनकपुरधामसम्मको सडकको दुरावस्थामा रहेको र आफनो पार्टीको नेतृत्वमा सरकार बनेपछि त्यसलाई विकास गरेको बताउँदै विकास विरोधीहरु नै अहिले एमालेको विषयमा भ्रमात्मक प्रचार गरिरहेको बताए ।
महासेठले वर्तमान सरकार जनताको जनादेसबाट नभएर अदालतको परमादेशबाट आएको सरकार रहेको बताउदै सरकारले विकासमा खासै काम नगरेको आरोप लगाए ।
कार्यक्रममा नेकपा एमालेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार शिवशंकर साह हिराले भ्रष्टाचारमुक्त भए विकास आफै हुने भएकाले आफ्नो उम्मेदवारी नगरपालिका सहित नगरभित्र रहेका कार्यालयहरुमा हुने भ्रष्टाचारलाई शुन्यमा झार्ने उद्देश्यले रहेको बताए ।
साथै उनले सय दिनभत्र सरसफाई, डम्पिङ्ग साइटको व्यवस्थाप, लामखुट्टे र ट्राफिक व्यवस्थापन तथा एक वर्षभित्र प्रत्येक वडामा एम्बुलेन्स सहित निःशुल्क मोहल्ला क्लिनिक संचालन गर्ने जसमा उपचार सहित निःशुल्क प्याथलोजीको व्यवस्था रहनेछ । तीन वर्ष भित्रै यहाँका सामुदायिक विद्यालय र कलेजलाई स्मार्ट स्कूल र कलेजको रुपमा विकास गर्नेछु ।
कार्यक्रममा उपमेयर पदको उम्मेदवार रुना झा, वडा नमबर १३का वडा अध्यक्षका उम्मेदवार राम सेवक साह लगायतका वक्ताले आ–आफनो धारणा राखेका थिए ।