जनकपुरधाम, वैशाख ९ :
नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले सत्तारुढ गठबन्धनमा आवद्ध दलसंग कुनै उद्देश्य र भिजन नरहेको आरोप लगाएकी छिन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महतोले सत्तारुढ गठबन्धनमा आवद्ध न दलहरुसंग भिजन छ, न ती दलमा लागेका नेताहरुसंग भिजन रहेको आरोप लगाइन् । स्थानीय तहको निर्वाचन नजिकिदै गईरहेको समयमा महतोले सत्ता गठबन्धनमा रहेका दलहरुमा कुर्सीकै लोभमा नेताहरु एमाले त्यागेर गएको बताइन् ।
उनले केही नेताहरु कुर्सीको लोभमा एमाले त्यागेर जाँदैमा एमाले कमजोर नहुने दावी गरिन् । उनले भनिन् ‘एमाले कमजोर भएको भए एमालेलाई परास्त पार्न सबै दल एकजुट हुनुपर्ने थिएन् ।’ अगाडी भनिन् ‘एमाले पहिले पनि मबजुत स्थितिमा थियो र अहिले अझै मजबुत स्थितिमा रहेको छ ।’ एमाले युवाहरुको आकर्षणले यसै कुराको पुष्टी गरिरहेको उनको भनाई थियो ।
कार्यक्रममा महतोले आउने निर्वाचनमा एमालेले मजबुत परिणाम निकाल्ने र यसका लागि अहोरात्र खट्नका लागि नेता कार्यकर्ताहरुलाई निर्देशन दिइन् ।
एमाले जनकपुरधामको नगरअध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ज्ेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । जनकपुरधामको २५ वटै वडाबाट आएका ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा एमालेको प्रदेश सदस्य शिवशंकर साह हिरा, एमालेको नगर उपाध्यक्ष संतोषकुमार महतो, नगर सचिव राजु साह, उपसचिव रुका मिश्र, उपसचिव दीपनारायण साह लगायतको उपस्थिति रहेको थियो ।