जनकपुरधाम, वैशाख ७ :
नेकपा एमालेबाट जनकपुरधामको नगरप्रमुखका अकांक्षी शिवशंकर साह हिराले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
जनकपुरधामको नगरप्रमुखको अकांक्षी रहेका हिरा चुनावको मिति नजिकिदै जाँदा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका हुन् । उनी एमाले मधेश प्रदेश समितिका सदस्य समेत हुन् । हिरा बुधबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३मा घरदैलो गरेका हुन् । वडा नम्बर ३मा उनले मतदाताहरुलाई उनले स्थानीय निर्वाचनमा एमालेलाई सहयोग गर्नका लागि आग्रह गरे ।
हिराले जनकपुरधामको विकास, स्वच्छ, हराभरा र सुन्दर तथा समृद्ध जनकपुरधाम निर्माणका लागि नगरवासीको साथ एमालेसंग रहेको दावी गरे । उनले जनकपुरधामलाई डिजिटल स्मार्ट जनकपुरधाम निर्माणका लागि नगरवासीको साथ रहेको बताए ।
यता नगरप्रमुखको टिकट पाउने आशमै एमाले प्रवेश गरेका जनकपुरधाम उपमहानगरपालिका वडा ७का वडाध्यक्ष जानकीराम साह एमालेमा प्रवेश गरेकोमा स्वागत गरे । अब नगरप्रमुखमा जानकीरामले टिकेट एमालेबाट पाउने हल्ला रहेको छ नि प्रश्नमा हिराले भने ‘उहाँ एमालेमा आउनु भएको छ, पार्टीमा हामी स्वागत गर्छौँ ।’ अगाडी भने ‘पार्टीमा मेरो लगानी छ, मेरो उचित मूल्यांकन पार्टीले गर्नेछ ।’
उनले पार्टीले गर्ने कुनै पनि निर्णय मान्न आफू तयार रहेको बताए । हिराले आफू अहिले नगरप्रमुख पदका लागि नभई नेकपा एमालेलाई मतदान गर्न मतदाताहरुसंग अपिल गरिरहेको जानकारी दिए ।हिरा संगै एमालेका नगर अध्यक्ष सुरेन्द्र भण्डारी, उपाध्यक्ष सन्तोष महतो, सचिव राजु साह , जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ काे वार्ड अध्यक्षका अकांक्षी शुनिल दास र उनको टिम जनकपुरधाममा खटेका छन् ।