एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ : हरेक नयाँ वर्षको बैशाख २ गते तराई मधेशमा आज जुडशितल पर्व मनाईदै छ । यस पर्वमा अभिभावक लगायत परिवारका अग्रज सदस्यले आफु भन्दा सानाहरुको शिरमा जल छर्केर आशीर्वाद दिने परम्परा छ । यसरी सानाको शिरमा जल थपथपाउनुलाई जुराउनु पनि भनिन्छ । शिरमा जल थपथपाएर वर्ष भरि जुराउनु अर्थात शितलता प्रदान होस भने आर्शिवाद प्रदान गरिन्छ ।
साथै समाजका अग्रजहरुले छरछिमेकका सानाहरुलाई पनि आर्शिवाद दिने गर्दछ । जुडशितल पर्वका दिन मधेशको हरेक घरमा सोहिजनको तरकारी, तरुवा, बघरुवा, करहीबरही, भुजुवा, आँप टिकुलाको चटनी वा तरुवा, पापड, सतु लगायत विभिन्न व्यन्जन तयारी गरि भान्सा घरको चुल्हालाई भगवान विष्णुको रुपमा पुजाआजा गर्ने गर्छन । आजको दुवै छाकका लागि पाकेका सम्पुर्ण ब्यजनले पुजापाठ सकेपछि मात्र भोजन गर्ने चलन छ । विहान पाकेको भोजन आज साँझ पनि खाएर भान्साको चुल्हा सहितका सरसमानलाई एक दिन आराम गर्न दिइन्छ ।
यस दिन व्यक्ती मात्र होइन मान्छा समेतलाई जुराउने परम्परा रहेको छ । आजका दिन शिरमा जल राखी आशीर्वाद दिंदा वर्षभरी शितलता, शान्ति र समृद्धि आउने जनबिश्वास रहेको पाईन्छ । आजको दिन मलिलो माटो सहितको हिलोमा समेत खेल्दा शितलता पाउने भएकाले खेल्ने गरिन्छ ।
आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने चौपाया (गाईवस्तु) नुहाउने समेत परम्परा रहेको छ । अत्याधिक गर्मी र सूर्यको तापबाट आकुल व्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान होस भन्ने नै पर्वको मूल उद्देश्य रहेको छ ।