एसपी रिपोर्टर
जनकपुरधाम, चैत २७ : लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जनकपुरधामका लागि पाँच जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । लोसपाले वर्तमान प्रदेश सांसद परमेश्वर साह, जनकपुरधाम नगर सभापती मनोज चौधरी, वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साह, अमर पजियार र संजय चौधरीको नाम सिफारिस गरिएको छ ।
तत्कालिन राजपा जो जनकपुरधाम उपमहानगरपालिकामा निर्वाचित समेत भएको थियो हाल लोसपा बनेको छ । जनकपुरधाममा संगठनको हिसावले कांग्रेस र लोसपा मुख्य प्रतिस्पर्धी देखिन्छ । तर हल्ला भए अनुसार गठबन्धन भएको अवस्थामा लोसपा र एमालेको पनि यहाँ गठबन्धन हुन सक्ने चर्चा परिचर्चा भइरहेको छ ।
साथै उपमेयरका लागि वर्तमान उपमेयर रिता झासहित पुनम झा, विभा ठाकुर, विभा पाण्डे र पुनम साहको नाम प्रस्ताव गरिएको पार्टीका जिल्ला अध्यक्षसमेत रहेका सांसद परमेश्वर साहले जानकारी दिए । उनले पार्टीको नगर समितिले नाम सिफारिस गरे पनि यो सिफारिस जिल्ला समिति हुँदै प्रदेश र प्रदेशबाट केन्द्रीय समितिमा पठाइने बताए ।