एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ : अगामि २०७९ बैशाख ३० गते निर्धारित स्थानिय तहको निर्वाचनमा हरेक पार्टीबाट उम्मेदवारहरु दावी गरिरहँदा पार्टीका पुराना ईमान्दार नेताहरुमा भने निराशा छाएको छ । पार्टी नेतृत्वमा देखिने पैसा र पावरको मोहले जिवन व्यतित गरि पार्टीका लागि समर्पितहरु भने निराश भएको देखिन्छ । यस्तै एक नेताहुन एमालेका उमेश चौधरी ।
चौधरी एमालेका जेनुन पात्र हुन तर पैसा र पावरको माहोलमा उनको न कतै चर्चा छ न कतै पर्चा । उनी त्यस समयका सफल एमालेकर्मी हुन जुन बेला बामपन्थीलाई धेरै चुनौती थियो । २०५५ सालमा त्रिभुवन विश्वविद्यालयको केन्द्रिय क्याम्पस कृतिपुरमा स्ववीयु सदस्यमा चुनाव लडेका चौधरी पराजित त भए तर मधेशी भएर पनि अनेरास्वीयुको उम्मेदवारहरु मध्ये अत्याधिक मत प्राप्त गरे । तत्कालिन एमाले र माले फुटेकाले उनी पराजय बेहोरिन पुगे ।
त्यस पछि त्रिविको आंगिक क्याम्पस जनकपुरधाम स्थित राराबमा २०६२ मा उनले स्ववियु सभापतीमा चुनाव लडे र जिते । २०६२ देखि २०६५ सम्म स्ववियु सभापती रहेका उनी त्रिवि सभाषद समेत हुन सफल भए । विद्यार्थी राजनितिमा २०५१ सालमा स्ववियु सदस्यमा एमाले पहिलो पटक प्रवेश पाँउदा चौधरी पनि थिए ।
त्रिवीको आंगिक र केन्द्रिय क्याम्पस दुवैको स्ववियु चुनावमा जनकपुरधामबाट चुनाव लडने दुई जना मात्र थिए । युवराज खाँती दुवै चुनावमा सभापतीमा विजयी भएका थिए भने चौधरी राराबमा विजयी र कृतीपुरमा सदस्यमा पराजित भएका थिए । हाल अंग्रेजी विषयका अध्यापक चौधरी कुशल वक्ता पनि हुन । वक्तृत्वकलामा नेपाल उत्कृष्ट गर्दै साउथ एशिया स्तरमा भएको प्रतिस्पर्धामा दोस्रो स्थान पाएका उनी राजनितिमा जाँगर रहेपनि परिस्थितीले पछाडिएका छन् ।
पार्टीमा पैसा र पावरवालाहरुको बोलबाला मौलाएकाले किशोरा अवस्था देखि जवानी व्यतित गरेका चौधरी जस्ता युवा नेताहरु अस्तित्व बचाउने दाउमा छन् । पार्टी नेतृत्व पैसा र पहुँचवालाकै सेरोफेरो घुमिरहेकाले जेनुनहरु पाखा लाग्दै गएका छन् । यद्यपि उनीहरु अझै पार्टी प्रति प्रतिवद्व छन् । तर पैसाको मात्र जित नहुने चौधरी बताउछन् । उनी भन्छन, ‘योगदान र अतितको मुल्याङ्कन नगर्ने हो भने सवैको खराव समय निश्चित छ ।’