एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ : जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ । सर्लाहीमा क्लबको भवन बनाउने विषयमा झडप हुँदा प्रमुख सचेतक साहको टाउको फुटेको छ भने उनका अंगरक्षक पनि घाइते भएका छन् । अंगरक्षकको साथमा रहेको पेस्तोल पनि खोसिएको स्थानीय अनिल साहले बताए ।
शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर–६ बयलवासमा फुलझरी युवा क्लब बनाउने÷नबनाउने विषयमा झडप हुँदा सांसद साह र उनका अंगरक्षक घाइते भएको ईलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए । उनले सांसद साहको टाउकोमा २०÷२५ वटा टाँका लागेको बताए ।
बयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गा र भवन निर्माणको विषयमा केही दिनदेखि स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो । विवादले उग्ररुप लिएपछि सांसद साह बिहान घटनास्थल पुगेलगत्तै झडप भएको थियो ।
यसैबिच, सांसद साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको जसपाले आरोप लगाएको छ । एक विज्ञप्ति जारी गर्दै जसपाले भनेको छ, ‘नेकपा एमालेले यस्ता घृणित र अपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् नेकपा एमाले हुने छ ।’
जसपाले घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सरकारसँग माग पनि गरेको छ । घाइते भएका साहलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको हो ।