एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन् । सिंह वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुन् ।
नेता सिंहलाई जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । नेता सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गरेका थिए । तर एमालेले आफू भन्दा पहिले नै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उनी असन्तुष्ट भएका थिए ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले नेता सिंहलाई जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गर्न नेतृत्वसँग आग्रह गरेका छन् । उनको जसपा प्रवेशले अव पुनः त्यहाँ २०७४ कै तिनजना बिच कडा प्रतिस्पर्धाको माहोल बनेको छ । वर्तमान मेयर बिजय सरावगी एमालेको तर्फबाट, सिंह जसपा र कांग्रेसका द्वुवेदी बिच पुनः प्रतिस्पर्धाको संजोग बनेको छ ।