एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ : १५ दिने मिथिला माध्यमिकी परिक्रमा समापनका अवसरमा जनकपुरधामा होली मिलन समारोह गरिएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बिहीबार बाह्विगहामा गरेको समारोहमा सहभागीहरूले परिक्रमाको महत्वको चर्चा गर्नुका साथै होलीको शुभकामना आदान प्रदान गरेका छन् ।
समारोहमा मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री शत्रुधन महतोले एकअर्कामा सद्भाव बढाउने पर्वका रूपम होली पर्व रहेको बताउनुभयो । उहाँले होली पर्व विगतमा भएका झगडा, द्वेषलाई त्यागेर मेलमिलापका साथ अगाडि बढ्न सन्देश दिने पर्वका रूपमा रहेको बताउनुभयो ।
समारोहमा कलाकारहरूले होलीसम्बन्धी गीतहरू गाएर मनोरञ्जन गराएका थिए । समारोहमा बृहत्तरका अध्यक्ष बलराम ठाकुर, बाबा नवलशरण दास, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक बसन्त रजौरेका साथै परिक्रमामा आएका तीर्थयात्रीलगायत सहभागी भएका थिए ।