एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ : करिव सात वर्षको अन्तरालमा जनकपुरधाममा जारी नेकपा एमालेको सातौ धनुषा जिल्ला अधिवेशनमा अध्यक्ष राजकिशोर यादवले प्रस्तुत गरेको आर्थिक र सांगठनिक प्रतिवदेनको व्यापक विरोध भएको छ । मंगलवार भएको बन्द सत्रमा करिव साढे आठसय देखि नौ सय प्रतिनिधीहरुका बिच अध्यक्ष यादवद्वारा प्रस्तुत प्रतिवेदन हचुवाको भरमा बिना कुनै आधार प्रस्तुत गरिदा बन्दसत्र तातिएको छ ।
अध्यक्ष यादवको प्रतिवेदन उपर मंगलवार बोलेका करिव ३५ जना प्रतिनिधीमा सवैले अध्यक्षको प्रतिवेदनको विरोध गरेका छन् । पटक पटक सचिव र निरन्तर सात वर्ष सम्म अध्यक्ष चलाउँदा समेत अध्यक्षले बच्चाको खेल जस्तो दुई पानामै बिना कुनै तथ्य प्रमाण बच्चाले कोर्ने कपी जस्तो प्रतिवेदन ल्याउँदा प्रतिनिधीहरु आक्रोसित बनेको स्रोतले जनाएको छ । प्रतिनिधीहरु उन माथी अपार्दर्शी तथा आर्थिक रुपमा नैतिक पतन सम्मको आरोप लगाएका छन् ।
स्रोतका अनुसार प्रतिनिधी एवं जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख प्रत्यासी पुनम मिश्रले बोलिन, ‘अध्यक्ष जीको प्रतिवेदन हेर्दा अव पुरुषहरु असक्षम सावित भयो अध्यक्ष मण्डल जी, उहाँहरु सक्नु हुन्न भन्ने हामी महिलालाई अवसर दिनोस हामी उहाँ भन्दा राम्रो चलाएर देखाइदिन्छौं ।’ उनले अध्यक्षको प्रतिवेदन कुनै तुकको नरहेको र हरहिसाव पचाउने किशिमको रहेको आरोप लगाइन ।
मंगलवार बोलेका कसैले पनि अध्यक्षको पक्षमा बोलेन । बोलेका धनुषा क्षेत्र नं. ३ र ४ का पार्टी केन्द्रिय सचिव रघुविर महासेठकै पनि कसैले पनि उनको पक्षमा बोलेनन । केहि दिन अगाडि सम्म महासेठ विरुद्वको अभियान चलाएका यादव पदको बार्गेनिङ्ग गर्दै पुनः धनुषा अध्यक्ष बन्ने दाउमा जिल्ला अधिवेशनमा सहमतीमा आएपछि महासेठकै नजिकका नेताहरु पनि आक्रोसित देखिएका छन् ।
पार्टीका केन्द्रिय नेतृत्वबाट महासेठलाई दबाब दिन लगाएर पार्टीको नेतृत्व पुनः हत्याउने दाउ महासेठ नजिकका अर्का नेताहरुले बुझेको र थप त्यसमा पनि अध्यक्षको प्रतिवेदन घरको न घाटको जस्तो आएपछि झनै शंका उत्पन्न गराएको छ । अध्यक्ष यादवको क्षेत्र १ र २ का पनि प्रतिनिधीहरु उनको विरोधमा बोले । प्रतिनिधीहरु पुरुषोतम लामा, जोगी यादव, भोला यादव, वचनदेव पजियार, पुनम मिश्र सहित बोलेका सवैले उनको विरोध गरेको नाम उल्लेख नगर्ने सर्तमा एक नेताले बताए ।
किशोरी साह कमललाई विकल्पमा आउन दबाब
महासेठको आर्शिवादले पटक पटक जिल्लाको सचिव र सात वर्ष सम्म अध्यक्ष चलाएको यादवले मनमानी काम गरेको र आर्थिक परिक्षण समेत नगराएको आरोप छ । मंगलवार बोल्ने ३५ जनाले विरोध गरिरहँदा हाउसमा तालिको गडगडाहट सुनिएको एक नेताले बताए । यस्को मतलव कोहि पनि उनको पक्षमा नरहेको उनको तर्क थियो ।
महासेठ समुहकै नेता र अन्य प्रतिनिधीहरु यादवलाई नेतृत्वमा दोहराउने पक्षमा देखिदैनन । एक नेताले भने, ‘यादवलाई ल्याउने प्रस्ताव ल्याए विद्रोह हुने समेत चेतावनी नेताहरुको छ ।’ यादव उम्मेदवारका रुपमा ल्याइए मतदान हुने र त्यस अवस्थामा उनकै क्षेत्रका प्रदेश सांसद समेत रहेका किशोरी साह कमललाई नेता तथा प्रतिनिधीहरुले उम्मेदवार बनाउनु पर्ने सोच बनाएका छन् ।
भोटिङ्ग हुने सम्भावना रहेको र त्यस्तो अवस्था आए कमललाई उम्मेदवार बनाएर आफुहरु जाने एक नेता तथा प्रतिनिधीको जिकिर छ । कमलले नमाने पनि उनी पुराना नेता र स्वभावले शान्त, सरल, सालिन र सभ्य भएकाले प्रतिनिह्रु विकल्पमा उनलाई अगाडि ल्याउने तयारी गरेका छन् । धनुषाको नेतृत्व कमाउ होइन इमान्दार नेताको हातमा जानुपर्ने उनीहरुको मांग छ ।