एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २८ : नेपाली कांग्रेस धनुषाको सभापतिमा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार १७ सय ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनी विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन । शुक्रबार भएको दोस्रो चरणको मतदानमा खसेको २८ सय १४ मध्ये योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत पाएका छन् । ३३ मत भने बदर भएको छ ।
देउवा समुह अर्थात संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति निर्वाचित भएका हुन । धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६३४, क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको थियो ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबभन्दा धेरै मत पजियारले नै ल्याएका थिए । तरपनि उनको पक्षमा बहुमत पुग्न सकेको थिएन । कुल ३ हजार १७३ मतदातामध्ये पहिलो चरणमा २ हजार ९१२ जनाले मतदान गरेका थिए । पजियारले १ हजार २४८ मत पाएका थिए भने संतोषले ८८२ र दिनेश प्रसाद प्रसैलाले ६३० मत पाए । त्यस्तै, १५१ वटा मत बदर भएको थियो ।
कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो । दोस्रो चरणको निर्वाचनमा योगेन्द्रलाई डाक्टर शेखर कोइराला पक्षका उम्मेदवार दिनेश प्रसैलाले साथ दिएका थिए । तर पनि संस्थापन पक्षका यादवले पहिलो चरण भन्दा करिव दुई सय मत बृद्वि गर्न सफल भएका छन् । प्रसैलाले समर्थन गरेपछि पजियारको जित सुनिश्चित भएपनि धनुषामा सहमतीको वातावरण नबन्दा धनुषा कांग्रेसमा लफडाको संकेत देखिएको छ ।
निर्वाचित पजियार भन्छन्, ‘कांग्रेस सवैको हो, सबै वर्ग र समुदायले अवसर पाउनु पर्छ, कांग्रेस बनाउन सबैको योगदान छ र चाहिन्छ ।’ कांग्रेसका एक नेताका अनुसार वैश्य समुदाय अधिकांश कांग्रेसको मतदाता भएपनि १३ पटक धनुषाको उपसभापती भएर पनि सभापती हुन नसकेको थिएन त्यसैले नेता निधी अगामि निर्वाचनहरुलाई समेत दृष्टिगत गर्दै यसपालि वैश्य समुदायबाट कांग्रेस धनुषाको सभापती उम्मेदवार बनाएका हुन । यद्यपि पजियार, यादव, मुस्लिम, कोइरी सहितका सवै समुदायलाई मिलाउन खपिस छन् ।
क्षेत्रगत हिसावमा यस्तो छ पजियार र यादवको मत
क्षेत्र नम्बर १
योगेन्द्र पजियार : ३०५
संतोष यादव : ३५५
बदर मत : ११
क्षेत्र नम्बर २
योगेन्द्र पजियार : ४६६
संतोष यादव : २२२
बदर मत : ८
क्षेत्र नम्बर ३
योगेन्द्र पजियार : ५२२
संतोष यादव : १०४
बदर मत : ७
क्षेत्र नम्बर ४
योगेन्द्र पजियार : ३०२
संतोष यादव : २७२
बदर मत : ५
अशक्त अपाङ्ग समूहतर्फ
योगेन्द्र पजियार : १४०
संतोष यादव : ९३
बदर मत : २