एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ : नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणमा शुक्रवार भएको मतदानमा २ हजार ८ सय १४ जनाले मतदान गरेका छन् । धनुषामा कुल ३ हजार १ सय ७३ मतदाता रहेकोमा पहिलो चरणको निर्वाचनमा सोमवार दुई हजार ९ सय १२ जनाले मतदान गरेका थिए । त्यस मतदानमा २ सय ६१ जना अनुपस्थित रहे । भने दोस्रो चरणमा ३ सय ५९ जनाले मत खसालेनन् ।
शुक्रवार बिहान ११ बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए । यसअघि भएको पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन् । पहिलो चरणमा कुनै उम्मेदवार जित्न नसकेपछि दोस्रो चरणको मतदान बिहीबारको लागि तय गरिएको थियो तर बिहीबार निर्वाचन हुन नसक्दा उम्मेदवारहरुको सहमति र सहकार्यको निर्णय अनुसार शुक्रबारको लागि सारिएको थियो ।
दोस्रो चरणको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट सन्तोष यादव र विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार चुनावी मैदानमा रहेका छन् । डा. शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसाद प्रसैला भने पहिलो चरणको निर्वाचन पश्चात बाहिरिएका हुन् । उनले पहिलो चरणमा सर्वाधिक मत ल्याएका निधि समूहका उम्मेदवार पजियारलाई समर्थन गरेको छ ।