एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २६ : नेपाली कांग्रेस धनुषा जिल्ला सभापति चयनका लागि शुक्रबार बिहान मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि एक दिन पर सारिएको हो । यसअघि २३ फागुनमा भएको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।
निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि जनकपुरधामस्थित तिरहुतिया गाछीमा मतदान हुनेछ । उम्मेदवारहरुबीचको सहमति र सहकार्यको निर्णय अनुसार मतदान कार्यक्रम पछि सारिएको उनले बताए ।
बिहीबार तोकिएको मतदान नहुँदा गाउँ गाउँबाट आएका मतदाताले नाराबाजी गरेर विरोध जनाएका छन् । कांग्रेसका नेता कार्यक्रताहरुले पार्टी कार्यालय घेराउ गर्दै अनाहकमा निर्वाचन सारेर आफनै नेता कार्यक्रतालाई दुःख दिने काम नगर्न नारावाजी गरेका थिए । पहिलो चरणको निर्वाचनमा योगेन्द्र पंजियारले १२४८, सन्तोष यादवले ८८२ तथा दिनेश प्रसैलाले ६३० मत ल्याएका थिए ।
पञ्जियार नेता बिमलेन्द्र निधि, यादव सभापति शेरबहादुर देउवा र प्रसैला डा. शेखर कोइराला पक्षका हुन् । प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले पञ्जियारलाई समर्थन जनाइसकेका छन् ।