एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २३ : नेपाली कांग्रेस धनुषाको नेता छान्न मतदान जारी छ । जनकपुरधामको एतिहाँसिक तिरहुतिगा गाछीमा जारी मतदान स्थलमा मतदाता संग मत मागिरहेका तिनैजना सभापतीका उम्मेदवारहरु आफुहरु जित्ने दावी गरिरहेका छन् । चुनावी मैदानमा देउवा अर्थात संस्थापन समुहबाट सन्तोष कुमार यादव उम्मेदवार छन भने संस्थापन इतर समुहहरु निधी समुहबाट योगेन्द्र पजियार ‘जोगी’ र कोइराला समुहबाट दिनेश प्रसैला यादव उम्मेदवार छन् ।
यादव कांग्रेस धनुषाको वर्तमान उपसभापती, पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयर र प्रसैला संविधानसभा सदस्य हुन । विहान ८ देखि मतदानको पुर्व तालिका रहेपनि विहान ११ बजे देखि मात्र मतदान सुरु सम्भव भयो । तिरहुतिया गाछीको मुख्य प्रवेशद्वारबाट मतदानका लागि प्रवेश रहेकोमा पुर्व तर्फ पुरुष मतदाताको लाइन र पश्चिम तर्फ महिला मतदाताको लाइन कायम गरिएको छ ।
एकजना मतदातालाई मत खसाल्न करिव १० देखि १५ मिनेट लाग्ने गरेको छ । धनुषा कांग्रेसको जिल्ला अधिवेशनमा तिन हजार एक सय ९७ कुल मतदाता रहेका छन भने सभापती देखि विभिन्न ९१ सिटका लागि कुल २ सय ४० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । उनीहरुको भविष्य भने मतपेटिकामा बन्द भएको छ ।