सुमित साह
जनकपुरधाम, फागुन २१ : मधेश प्रदेशको राजधानी जनकपुरधाम र गण्डकी प्रदेशको राजधानी पोखरा बिच हवाई उडान सुरु भएको छ । उडान सुरु भएपछि निजि क्षेत्र, होटल व्यवसाय र उद्योगी व्यवसायी उत्साहित देखिएका छन् ।
बुद्व एयरको १८ सिटे विमानबाट गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली जनकपुरधाम सम्मको पहिलो उडान भरेर जनकपुरधाम–पोखरा बिचको हवाई उडानको समुदघाटन भएको छ । २० सिटे सो विमानको १८ जना यात्रु क्षमता अनुसार गण्डकी सरकारका कुल १८ सदस्य पहिलो विमान चढेर जनकपुरधाम अवतरण गरेका हुन । टोलीलाई मधेश प्रदेश सरकारका पर्यटन मन्त्री सत्रुधन महतो तथा भौतीक पुर्वाधार विकास मन्त्री राम सरोज यादवले विमानस्थलमा स्वागत गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले देशकै मुख्य पर्यटकीय शहर पोखरा र धार्मिक पर्यटनको केन्द्र जनकपुरधाम विचको हवाई सम्पर्कले आर्थिक र धार्मिक उन्नतीका साथै दुई प्रदेश बिचको सम्बन्धलाई समेत प्रगाढ बनाउने भन्दै उनले खुसीको सिमा नरहेको बताए ।
मुख्यमन्त्री पोखरेलले हवाई सम्पर्क बनेपछिको सहज सम्बन्ध पश्चात अव निजि क्षेत्रसंग बसेर दुई शहर बिच हुन सक्ने थप विकासका योजनाका विषयमा निजिक्षेत्रसंग बसेर कुराकानी हुने बताएका छन् । मधेश प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीले गण्डकीको मुख्यमन्त्री सहितका टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउदै टोलीलाई मुख्यमन्त्रीको स्वागत र भोज, जनकपुरधाम, जानकी मन्दिर, धनुषाधाम सहितको धार्मिक स्थलको भ्रमण सहित सम्बन्ध विस्तारका विषयमा छलफलको कार्यक्रम समेत रहेको बताए ।
गण्डकी सरकारको टोलीमा अर्थमन्त्री, पर्यटन मन्त्री, निजिक्षेत्र, पत्रका सहितका रहेका छन् । एता दुई शहरबिचको उडानले जनकपुरधामका उद्योगी व्यवसायी उत्साहित देखिएका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले उडानले भारतिय पर्यटक जनकपुरधामबाट सिधै पोखरा पुग्ने भएकाले दुवै शहरको आर्थिक उन्नती हुने बताए ।
जनकपुरधाम विमानस्थलका प्रमुख योगेन्द्रनाथ कुवँरले जनकपुरधामबाट आज पहिलो उडान अग्रिम बुक भएर फुल गएको र अगामि केहि दिनको उडानहरु पनि अग्रिम बुकिङ्ग भई सिट प्याक रहेकाले दुई शहरबिचको उडान सफल र विस्तार हुने बताए । उनका अनुसार बुद्व एयरले चात्रुको चापलाई मध्येनजर गर्दै ठुलो विमान ल्याउन लागेको विमानस्थलाई जानकारी गराइसकिएको छ । जनकपुरधाम र पोखरा बिच उडान सुरु भएपछि विभिन्न कामहरुले पोखरा गइरहने जनकपुरधामवासी र अगुवाहरु पनि खुसि देखिएका छन् ।