एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २० : निजी तथा आवासीय विद्यालय एशोसियसन (नेशनल प्याबसन)को आगामी फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुन गइरहेको ७ औँ महाधिवेशनमा मधेश प्रदेशका प्रतिनिधीहरुले यसपालि उपत्यका वाहिरका नेतृत्व जिताउन लागि परेका छन् ।
यस अघि छैठौं महाधिवेशनमा अध्यक्षमा पराजित सिरहाका पाण्डव हमाललाई अध्यक्ष पदमा जिताएर एनप्यावसनमा पहिलो पटक मोफसलका नेतृत्वका लागि तयारी भइरहेको एनप्यावसन धनुषा र मधेश प्रदेशका पदाधिकारीहरुले बताएका छन् ।
देश भरिका कुल १९ भन्दा बढी सदस्यहरु मध्ये मधेश प्रदेशबाटै करिव ७ सय भन्दा बढी सदस्यहरु एनप्यावसनमा रहेपनि उपत्यका बाहिरकाले अहिले सम्म नेतृत्व पाउन नसक्नु दुःखद रहेको उनीहरुको तर्क छ । जनकपुरधाममा एनप्याबसन आवद्ध विद्यालयका सञ्चालकहरुले एक पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हमाललाई जिताउन कुनैै कसर वाँकी नराख्ने बताएका छन् ।
यस संस्थामा आफ्नो लगानी, प्रतिबद्धता, कर्तव्यनिष्ठता र निरन्तरताका कारण उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकाले उनको पनि सम्मान हुनुपर्ने एनप्याबसनका निवर्तमान केन्द्रीय उपाध्यक्ष ब्रजेन्द्र मिश्रले जानकारी दिए । अध्यक्ष पदका उम्मेदवार हमाल मधेस प्रदेशको सिरहा जिल्लास्थित लहान नगरपालिकाका स्थायी वासिन्दा हुन् ।
हमालसँगै एनप्याबसनको केन्द्रीय अध्यक्ष पदका लागि वर्तमान महासचिव सुभाष न्यौपानेले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । पत्रकार सम्मेलन मार्फत मिश्र स्वयंले साथीहरुको चाहना बमोजिम आफु केन्द्र छोडेर एनप्याबसनको प्रदेशको नेतृत्व लिने बताए । कार्यक्रममा एनप्यावसन धनुषाका पदाधिकारी, पुर्वपदाधिकारीहरु सहितको उपस्थिती थियो ।