एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ : नेकपा एमालेका सचिव रघुवीर महासेठले युक्रेनको पक्षमा नेपाल सरकारले मत दिएकोप्रति आपत्ति जनाउनुभएको छ । रुस र युक्रेनबीच भएको युद्धको विषयमा संयुक्त राष्ट्रसंघले भोटिङ गराएको थियो । जसमा नेपालले पक्षमा र भारत तथा चीन तटस्थ रहेका थिए ।
धनुषाको नगराइन नगरपालिकामा बिहीबार भएको प्रथम नगर अधिवेशन तथा घोषणासभामा सचिव महासेठले छिमेकी मुलुक चीन र भारतसँग सल्लाह नै नगरी नेपालले एकलौटी रूपमा युक्रेनको पक्षमा मत दिएको भन्दै आपत्ति जनाउनुभएको छ । सचिव महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्न खाजेको आरोप लगाउनुभयो ।
त्यस्तै, प्रतिनिधिसभाकी सांसद् तथा नेकपा एमालेकी नेतृ जुली महतोले जनताका बीचमा र जनताका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । अधिवेशनमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, बटेश्वरका गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत, मिथिला बिहारी नगरपालिका मेयर अनिल यादवलगायत सहभागी थिए ।
यसैबीच, अधिवेशनअन्तर्गत पार्टीको नगराइन नगरपालिकाको अध्यक्षमा रामचन्द्र यादव विजयी हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा श्यामबाबु राउत, सचिव अञ्जनकुमार रञ्जन, दुई उपसचिवमा श्यामकिशोर साह र रामसुदिष्ट साहसहित विजयी भएका छन् । ८५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।