एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ : नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि तिनजनाले सभापतीमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषा जिल्ला अधिवेशनको लागि बिहीबारबाट चुनावी प्रक्रिया सुरु भई उम्मेदवारी मनोनयन गरिएको छ । धनुषाको नेतृत्वका लागि ३ जना प्रभावशाली नेताले सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।
संस्थापन पक्षबाट एक जना र संस्थापन इतरबाट २ जनाले उम्मेदवारी दिएका छन् । संस्थापन पक्ष देउवा समुहबाट वर्तमान जिल्ला उपसभापति समेत रहेका संतोष यादवले सभापति पदमा मनोनयन दर्ता गराएका छन् भने संस्थापन इतर समूहहरु निधी समुहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर समेत रहेका योगेन्द्र पजियार र कोइराला समुहबाट संविधान सभा सदस्य समेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयनका क्रममा देखिएको तामझाममा निधी समुहका पजियारको तामझाम सबै भन्दा उच्च देखिएको छ । देउवा समुहका यादव र कोइराला समुहका प्रसैलाको तामझाम र मास प्रदर्शन भन्दा पजियारको मनोनयनमा बढी तामझाम देखिएको छ । त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
सचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् । सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइन लगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लामा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ । निर्वाचमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो चरणमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
तस्वीर : द रियल समाचार