एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ : मिथिला र मधेशको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा । जस्मा नाङ्गो खुट्टा १ सय ३३ किलोमिटर यात्रा पैदल तय गरिन्छ । ‘जय सियाराम जय जय सियाराम’ उच्चारण गर्दै प्रत्येक दिन १५ विश्राम स्थलमा राती विश्राम गरि सो दुरी तय गर्ने यस धार्मिक यात्राले नेपाल भारतको सम्बन्धलाई प्रगाढ गरेको छ ।
लयवद्व ‘जय सियाराम जय जय सियाराम’ को जाप गर्दै नेपालको १ सय ५ र भारतको २८ गरि कुल एक सय ३३ किलोमिटर लामो पैदल धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा शुरु भएको छ । विहिवार मिथिला विहारी नगरपालिकाको कचुरी स्थित मिथिला विहारी मन्दिरवाट मिथिला विहारी जीको डोला निस्कए संगै परिक्रमा शुरु भएको हो ।
मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला शुक्रबार भारतको कल्याणेश्वर विश्रामका लागि प्रस्थान गर्ने छ । जानकारहरुका अनुसार करिव सन् १८९० तिर साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमा प्रारम्भ गरिएको थियो ।
सो समयमा बन जंगलका बाघ भालुले यहाँ बस्ने साधुसन्तलाई आहारका रुपमा आक्रमण गरि खाने गरेकाले त्यस्ता जनावरहरुलाई धपाउनका लागि साधुसन्तहरुले परिक्रमाको थालनी गरेको विश्वास गरिन्छ । तत्कालिन मिथिला विहारी मन्दिरका जिउदै समाधि लिएका महन्थ लाढली लाल जी शरण तथा जनकपुरधाम स्थित रत्नसागर स्थानका महन्थ बाबा नारायण दासजीहरुले मिलेर परिक्रमा शुरु गरेको बताइन्छ ।
दुईजना महन्थहरु केहि मात्र साधुसन्तहरुलाई लिएर टाँउको डोला राखी परिक्रमा गर्ने गरेका थिए । परिक्रममाको क्रममा समेत केहि साधुसन्तहरु जनावरको सिकार भएको जानकारहरु बताउछन् । महन्थ लाढली लाल जी शरण विरामी भएपछि केहि वर्ष स्थगित भएको परिक्रमा उनी पुन स्वस्थ्य हुँदा पुनः सुचारु गरे । त्यसपछिका मिथिला विहारीका महन्थ स्व. नवल किशोर शरणले परिक्रमाको खुवै प्रचार प्रसार गरे र विस्तार रुपमा परिक्रमा शुरु गर्न थाले । यस परम्परालाई हालका महन्थ राम नरेश शरणले समेत निरन्तरता दिइरहेका छन् ।
मिथिलाञ्चल क्षेत्रको मध्य भु–भाग जो राजर्षि राजा जनकको दरबार क्षेत्र मानिथ्यो रावणको अत्याचार बढेपछि राजा जनकले भगवान शिवलाई सहयोगको गुहार गर्दा भगवान शिव भारत विहारको कलानेश्वरनाथ, महोतरीको जलेश्वरनाथ, धनुषाको क्षिरेश्वरनाथ र सप्तेश्वरनाथको रुपमा दरवारको चारवटै कुनाहरुमा विराजमान भई मध्य मिथिला दरवार क्षेत्रको सुरक्षा गरेको हुनाले सोहि चार शिवालयहरुको परिक्रमा गर्ने भएकाले यसलाई मिथिला मध्यमा परिक्रमा समेत भनिएको हो ।
परिक्रमामा नाङ्गो खुट्टा सहभागी हुने भएकाले शरिरको रतmसञ्चार ठिक भई स्वस्थ्य हुने, मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक र बैज्ञानिक मान्यता रहेको छ । मठमन्दिरका साधुसन्तहरु सहित भजन किर्तन गर्दै दुई देशका गाँउ टोलका स्थानियहरु विश्राम स्थलमा एकै ठाँउ भण्डारा बनाएर विहान बेलुकी खाने गरेकाले आपसी समझदारी र सदभाव समेत समाजमा कायम हुने विश्वास छ । परिक्रमा मार्गमा पर्ने सम्पुर्ण गाँउवासीहरु समेत घरघरवाट साधुसन्त र तिर्थयात्रीहरुका लागि भोजन, भण्डारा तथा बसोबासको विभिन्न सरसमान सहयोग गरि धर्मको भागी बन्ने गर्छन । परिक्रमामा भु–भाग र सहभागिता समेत नेपाल र भारत दुवै देशको हुने भएकाले दुई देशको शुमधुर सम्बन्ध समेत परिक्रमाले स्थापित गरेको छ ।
१५ दिवसीय परिक्रममा सहभागि हुन नसकेकाहरु परिक्रमाको अन्तिम दिन हुने जनकपुरधाम नगरको अन्तरगृह परिक्रमामा समेत सहभागी भए सोहि बराबरको धर्म र फल प्राप्त हुने विश्वास छ । अव त मिथिला विहारी मन्दिर रहेको कचुरीवासीहरु समेत कचुरी गाँउको परिक्रमा गरे सोहि बराबरको फल प्राप्त हुने भन्दै गाँउको परिक्रमा समेत शुरु गरेका छन् ।
मिथिला विहारी सहित जनकपुरधाम स्थित रत्नसागर र सुन्दर सदन अग्निकुण्ड सहितका विभिन्न मन्दिरहरुवाट निस्कने रामजानकीको डोलाको अगुवाईमा कचुरीवाट रत्नसागर जानकी मन्दिर हुदै विहिवार हनुमानगढीमा विश्राम गरि शुक्रवार विहारको कलना स्थित कल्यानेश्वर महादेव स्थानमा राती विश्राम गर्ने छ । कलना पछि महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही र पुनः भारतको विसौल तथा पुनः कलानेश्वर हुँदै जनकपुर आइपुग्ने छ । प्रत्येक विश्रामस्थलमा धार्मिक धरोहरहरु छन जस्को आफनै इतिहाँस र पौरानिक विशेषता छ । फुलहरमा राम र सीताबीच पहिलो मिलन भएको विश्वास छ भने मटिहानीमा विष्णुको प्रख्यात मन्दिर छ । कञ्चनवनमा राम र सीता फागु खेलेको किम्वदन्ती छ ।
सीता स्वयम्वरका बेला भाँचिएको शिवधनुषको एक टुक्रा धनुषाधाममा खसेको किम्वदन्ती छ भने सतोषरमा सप्तऋषिको आश्रम रहेको विश्वास छ । फागुन शुक्ल औंसी तिथीको दिन कचुरीबाट शुरु भएको परिक्रमा फागुन पुणिर्माका दिन जनकपुरधाम नगरको परिक्रमा अर्थात अन्तगृह परिक्रमा पुरा गर्दै रंग अविर र होली खेल्दै घर र्फकने गर्छन् । फागुन पुर्णिमाकै दिन होली मनाइने भएपनि परिक्रमाकै कारण तिर्थयात्रीलाई आराम गर्ने समय दिइयोस भन्दै मिथिला र मधेशमा त्यसको भोली पल्ट मात्रै होली मनाइने परम्परा छ ।
त्यसो त परिक्रमाको सातौं विश्राम स्थल महोतरीको कञ्चनवनमै भगवान सितारामले होली खेलेकाले परिक्रमा कञ्चनवन पुगेकै दिन देखि मिथिलाञ्चलनमा विधिवत होली खेल्न शुरु भएको जनविश्वास पनि । दुई मित्र देश नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाएको यस तिर्थयात्राको विकास र प्रचार प्रसार तथा तिर्थयात्रीलाई हुने समस्याको समाधान गर्न राज्य पहल गर्न आवयश्क छ ।