एसपी रिपोर्टर
काठमाण्डौं, फागुन १८ : लामो पहलपछि नेपाल सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघ उक्त निर्णयको स्वागत गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेको छ । २०७८ फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको छ ।
नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो । यद्यपि सरकारको यो निर्णय स्वागत योग्य भए पनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेकोले महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवयश्क रहेको महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।