एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १८ : जनकपुरधाम स्थित राजर्षी जनक विश्वविद्यालयको कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । अन्तिम समयमा आएर आफुहरुको परिक्षा स्थगित गरिएको भन्दै बुधबार सोहि विश्वविद्यालयमा अध्यनरत केही विद्यार्थीहरू अचानक कार्यालय भित्र प्रवेश गरि तोडफोड गरेका हुन् ।
उनीहरुले कार्यालयभित्र रहेका फर्निचरका सरसमान, कम्प्युटर तथा विभिन्न उपकरणहरु तोडफोड गरेका छन् । परिक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सुचना अनुसार फाल्गुन १८ गते हुने भनिएको परिक्षा सबै विद्यार्थीहरुको इन्टरनल असेसमेन्ट समयमै नबुझाइएको कारण विश्वविद्यालयद्वारा स्थगित गरिएको भन्दै अक्रोसित विद्यार्थीहरूले अचानक तोडफोडमा उत्रेको विश्वविद्यालयका कर्मचारी ओमप्रकाश मण्डलले जानकारी दिनुभयो ।
तोडफोडमा संलग्न रहेको आंशकामा धनुषा प्रहरीले केहि विद्यार्थीहरुलाई पक्राउ समेत गरेका छन् । एता सहकर्मी पक्राउको विषयलाई लिएर जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै आफ्ना साथीहरु रिहाइको माग गरेका छन् ।
पटक–पटक परीक्षा किन स्थगित भएको भनेर परीक्षा नियन्त्रक र विश्वविद्यालयका प्रमुखसँग बुझ्न खोज्दा कसैले कुनै वास्ता नगरेको बीबीए प्रथम वर्षका विद्यार्थी आनन्दकुमार सहनीले बताए । त्यसको विरोधमा हामीले नाराबाजी गर्दा प्रहरी लगाएर चारजना विद्यार्थीलाई पक्राउ गरिएको उनको आरोप छ ।