एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ : माओवादीमा जनयुद्व र आन्दोलनमा पनि सांस्कृतीक कार्यक्रम र कलाकारहरुको नेतृत्व गरेका वर्तमान एमाले नेता प्रभु साह मधेशको रौतहटमा भारतीय राजनितिक संस्कारको थालनी गर्न थालेका छन् । भारतको राजनिति र खास गरि चुनावी सरगर्मीका बेला हुने कलाकारको प्रयोग अव उनको जिल्ला रौतहटमा समेत सुरु भएको छ ।
मंगलवार महाशिवरात्रीको दिन उनको धर्मपत्नी रिना कुमारी साह मेयर रहेकी मौलापुर नगरपालिका स्थित प्रसिद्व पतौरा महादेवमा आयोजित मधानी महोत्सव २०७८ को अवसरमा एक कार्यक्रम गरि नेता साहले एमालेका नेताहरुका साथै भोजपुरी सुपरस्टार तथा प्रसिद्व गायक खेसारीलाल यादव, नेपाली सुपर स्टार नायक राजेश हमाल, रानी चर्टजी सहितका कलाकारहरु एउटै स्टेजमा उतारेका छन् ।

माओवादीमा छदाकै सहायात्री नेता टोपबहादुर रायमाझी सहितकालाई बोलाएर पुर्व मन्त्री समेत रहेका साहले रौतहटमा मास पावर प्रस्तुत गर्न थालेका छन् । आयोजना महाशिवरात्रीको अवसरमा भएपनि यस्ता कार्यक्रम र मास प्रदर्शनले अगामि तिनैतहको निर्वाचनमा दखल राख्ने जानकारहरु बताउछन् । गित संगीत, नृत्य र कलाकारिताका पारखी र खास गरि मधेशका युवा मतदाताहरुलाई उनले यस्ता कार्यक्रम मार्फत आकर्षित गर्ने र यस्ले निर्वाचनमा पनि प्रभाव पार्ने आंकलन उनीहरुको छ ।

नेताहरुको भाषण सुन्न नमानेका लाखौं दर्शक माझ नेता रायमाझी विरुवामा पानी पटाएर कार्यक्रमको समुदघाटन गरे भने नेता साहले एक मिनेटमै आफनो भाषण सिध्याएका थिए । रौतहटमा कसैको मुखबाट विकास पुरुष त कसैकोबाट दबंग नेता भनेर समेत चिनिने पुर्व मन्त्री प्रभु साह र मौलापुर नगरपालिकाको आयोजनामा यस अघि पनि भोजपुरी चर्चित कलाकारहरु रौतहट आइसकेका छन् । नेता साहको सहयोगी तथा एस राज प्रोडक्सनको सञ्चालक कलाकार सन्तोष राज र सेलीना कुँवरको सहजीकरणमा भारतिय कलाकारहरु आएका छन् ।

