एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ : नेकपा एमाले धनुषाको नगर र जिल्ला अधिवेशनहरुमा विवाद देखिएको छ । एमाले सचिव रघुविर महासेठका बिश्वासपात्रको रुपमा पटक पटक एमालेको धनुषा जिल्ला अध्यक्ष भएर अहिले आफनै बेग्लै गुट निर्माणमा लागेका जिल्ला अध्यक्ष राजकिशोर यादवले जिल्ला कमिटिको सोमबारका लागि डाकिएको बैठक अचानक स्थगित गरिएको सुचना प्रकाशित गरेर सोमवार जनकपुरधाम उपमहानगरपालिका नगरकमिटिको अधिवेशन जनकपुरधाममा आयोजना गरेको छ ।
एता अर्को तर्फ महासेठ समुहका नेताहरु सोमवारनै जनकपुरधाममै धनुषा जिल्ला कमिटिको बैठक आयोजना गरेका छन् । महासेठ समुहको बैठकमा प्रदेश सांसद रामचन्द्र मण्डल, किशोरी साह कमल, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, जिल्ला सचिव तेजनारायण यादव, बिदेह नगरपालिकाका मेयर सहितका नेताहरुको उपस्थिती रहेको छ ।
यादवले आयोजना गरेको नगर अधिवेशनमा नेताहरु यदुवंश झा, सविता यादव, संजिव झा, रामबाबु साह, शुभनारायण मण्डल सहितको उपस्थिती छ । दुवै पक्षले एक अर्का प्रति आरोप प्रत्यारोप लगाउदै केहि नेताहरुका कारण पार्टीमा समान्य असमञ्जस्ता देखिएको बताउछन् । महासेठ समुहले समेत छिट्टै जनकपुरधाम उपमहानगरपालिकाको नगरकमिटि अधिवेशन गर्ने तयारी गरिरहेको छ । महासेठ समुहले भने जिल्ला कमिटिका ८७ मध्ये १३ बाहेक सबै आफनै समुहमा रहेको दावी गरेको छ ।