एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ : नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले एमसीसी पास हुनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा शुक्रबार नेपाली काँग्रेसका स्वर्गीय नेता महेन्द्रनारायण निधिको शतवार्षिक जन्म जयन्ती समारोहमा सहमहामन्त्री यादवले अमेरिकाले एमसीसीमार्फत दिन लागेको सहयोग जनताको हितमा रहेको दाबी गरेका छन् ।
उनले कम्युनिष्टहरू राष्ट्रवादी नभएर अराष्ट्रवादी रहेको पनि टिप्पणी गर्नुभयो । समारोहमा मधेश प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले एमसीसी नेपाल र नेपालीको हितमा रहेको बताए । त्यस्तै, नेता रामकृष्ण यादवले पार्टीलाई अबको चुनावमा बहुमत ल्याउन गुट उपगुट त्याग्नुपर्ने बताए । उनले एकताबद्ध भएर चुनावमा गए सबै तह र क्षेत्रमा बहुमत ल्याउनेसमेत दाबी गरे ।
समारोहमा सहभागी नेताहरूले स्वर्गीय निधिले देखाएको बाटोमा नेपाली कांग्रेस हिँड्नुपर्ने बताएका थिए । उनीहरूले स्वर्गीय निधिले पु¥याएको योगदानको पनि चर्चा गरेका थिए । कार्यक्रममा जनकपुरधाममा पूर्वसांसद् महेन्द्र मिश्र, पूर्वमेयर बजरंगप्रसाद साहलगायत सहभागी भएका थिए ।
शुक्रबार महेन्द्रनारायण निधिको जन्म जयन्ती मनाइएको हो । निधिको जन्म १९७८ साल फागुन १३ गते धनुषाको नगराइनमा भएको थियो । गान्धीवादी नेता निधिको २०५६ वैशाख २१ गते निधन भएको थियो ।