एसपी रिपोर्टर
काठमाण्डौं, फागुन १३ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन कायम रहेको अवस्थामा एमाले अहिलेको परमादेशी सरकारमा जान नसकिने बताएका छन् । त्यस्तो अवस्थामा नेपाली कांग्रेससँग आफ्नो पार्टीको सहकार्य नहुने उनले स्पष्ट पारेका छन् ।
एक रेडियो अन्तरवार्तमा उपाध्यक्ष पौडेलले भने, “हिजोको बैठकमा हाम्रा अध्यक्ष केपी ओलीले गठबन्धन छ कि छैन भनेर सोध्नुभएको थियो ।’ हामीले थाहा पाए अनुसार गठबन्धनसँग १६५ सिट छ । अहिलेसम्म त्यो गठबन्धन भताभुंग भएको देखिएको छैन । उहाँहरुलाई सोध्दा गठबन्धन छ नै भन्नुहुन्छ । गठबन्धन छ भने एमालेसँग किन अनुरोध गर्ने ? अनुरोध गर्ने हो भने एमालेको माग पूरा गर्नुप¥यो कि परेन ? उनको तर्क छ ।
सत्ता गठबन्धन रहेको अवस्थामा सरकारले संसद्मा लगेको एमसीसीको पक्ष वा विपक्षमा एमाले उभिने कल्पना पनि नगरेको पौडेलले बताए । उनले थपे, “प्रचण्डजीहरुले पहिले एमसीसी संसद्मा टेबल भयो भने समर्थन फिर्ता लिन्छौं भन्नुभएको थियो । अहिले विपक्षमा मतदान गर्ने गरिरहनुभएको छ । उहाँहरु सरकारबाट बाहिरिने मुडमा हुनुहुन्छ जस्तो मलाई लाग्दैन । यस्तो अवस्थामा कसरी कांग्रेस र एमालेको सहकार्य हुन सक्छ ?”
एमाले नेता पौडेलले सर्वोच्च अदालतको परमादेशी सरकारमा पार्टी सहभागी नहुने पनि दाबी गरे । उनले भने, “पहिलो कुरा त हामीले उठाएका मुद्दा सम्बोधन हुन्छन् कि हुँदैनन् ? एमालेले कारबाही गरेका १४ सांसदलाई हटाउने कि नहटाउने ? सभामुखले राजीनामा दिने कि नदिने ? हाम्रा माग सम्बोधन नभएसम्म सरकारको सहभागिताको प्रश्न कहाँ हुन्छ ? अर्को कुरा नेकपा एमाले परमादेशी सरकारमा सामेल हुँदैन ।”
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको कुरा हावादारी भएको पनि उनले बताए । उनले भने, “प्रचण्डको कुरामा विश्वास गर्नु जरुरी छैन । हाम्रो अध्यक्षसँग प्रचण्डले सदनको अवरोध कसरी खोल्ने, मिलेर जाऊँ भनेको हो । हाम्रा अध्यक्षको विरुद्धमा १९ पृष्ठ लामो फर्जी आरोप फिर्ता, सभामुखको राजीनामा र १४ जना व्यक्तिलाई सांसदबाट कारबाही गर्न सहमत हुनोस् भन्यौं हामीले ।
यो नभएको स्थितिमा हामी संसद्को कार्यसूचीमा प्रवेश गर्न सक्दैनौं । एमसीसी बारेमा नेकपा एमाले अनिर्णयमा बस्ने कुरा छैन । हाम्रा कुरा लुकेको पनि छैन । पहिलो कुरा गैरकानुनी कामको अविलम्ब अन्त्य हुनुप¥यो । सदनमा सहभागी हुने परिस्थिति बन्नुप¥यो ।”