एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० : मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश सरकारले छोरीहरूको सशक्तीकरणका लागि थुप्रै काम गरेको बताएका छन् । जनकपुरधाममा मंगलबार संकट मोचन माध्यमिक विद्यालयका छात्राहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्दै मन्त्री साहले मधेश सरकारले छोरीहरूका लागि धेरै अवसर सृजना गरेको बताए ।
उहाँले छोरीमाथि लाग्ने गरेको अनावश्यक अंकुश पनि हट्न थालेको बताउनुभयो । त्यसक्रममा विद्यालयले कक्षा १ देखि ८ सम्मका छात्राहरूलाई छात्रवृत्तिवापत् जनही चार सय प्रदान गरेको छ । छात्रवृत्तिले छात्राहरू पढाइप्रति उत्साहित र जिम्मेवार बन्ने विद्यालयका प्रधानाध्यापक बलिराम साहले बताए ।
मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश सरकारले सिपमुलक शिक्षामा जोड दिएको बताए । जनकपुरधाममा मंगलबार नोलेज ट्रान्सफर प्रोग्रामको उद्घाटन कार्यक्रममा मन्त्री साहले किताबी ज्ञान मात्रले दक्ष जनशक्ति उत्पादन हुन नसक्ने बताउनुभएको हो । उहाँले सिपमुलक शिक्षा अहिलेको आवश्यकता रहेको पनि बताए ।
मन्त्री साहले मधेश प्रदेशका ६० प्रतिशत युवा विदेशिन बाध्य भएको भन्दै सिपमुलक शिक्षाले मात्र आफ्नै देशमा रोजगारीको अवस्था सृजना हुने बताए । अमेरिकामा बस्ने नेपालीहरूको संस्था इक्वालिटी फाउण्डेशनले मधेश सरकारलाई प्राविधिक सहयोग गर्नका लागि नोलेज ट्रान्सफर प्रोग्राम गाउँ जाऊ सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत अमेरिकामा शिक्षा क्षेत्रमा भएका परिवर्तनलाई यस प्रदेशमा लागू गर्न सहज हुने विश्वास गरिएको छ ।