एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० : २ महिनादेखि जारी किसान आन्दोलन अन्तरगत मंगलबार तराई–मधेशका प्रदेश तथा विभिन्न जिल्ला निर्वाचन कार्यालयहरुलाई ज्ञापन पत्र बुझाइएको छ । निर्वाचन हुनुअघि किसान आन्दोलनको माग सम्बोधन गर्नु पर्नेलगायत ५ बुँदे ज्ञापन पत्र निर्वाचन कार्यालयमार्फत संघीय मन्त्रिपरिषद्, केन्द्रीय निर्वाचन कार्यालयलगायतलाई बुझाइएको हो ।
जनमत पार्टीको नेतृत्वमा जिल्लाको विभिन्न स्थानबाट निस्केको जुलुसले निर्वाचन कार्यालयहरु र जिल्ला प्रशासन कार्यालयहरु अगाडि प्रदर्शन गरेको छ । फागुन २० गतेभित्र किसान आन्दोलनको माग सम्बोधन नभए निर्वाचन कार्यालयहरुमा अनिश्चितकालिन तालाबन्दी गरी धर्ना दिइने जनमत पार्टीले जनाएको छ ।
यसैगरी जनमत पार्टीले निर्वाचन आयोगमा दर्ता रहेका र आयोगबाट चुनाव–चिन्ह पाइसकेका दलहरूलाई स्थानीय तहको निर्वाचन २०७९ मा देशभरि नै सोही चुनाव–चिन्ह वितरण गर्नु पर्ने माग गरेको छ । बहुसंख्यक मतदाताहरूको पुरानो मतदाता परिचयपत्र नष्ट भएको वा हराइरहेको हुँदा सम्पूर्ण मतदाताहरूलाई पुनः मतदाता परिचयपत्र वितरण गर्नु पर्ने र नागरिकता परिचयपत्र देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गर्नु पर्ने माग जनमत पार्टीले गरेको हो ।
निर्वाचनको क्रममा निर्वाचन आयोगदेखि लिएर निर्वाचन अधिकृतहरूले कुनै पनि सत्ताधारी पार्टीहरूको पक्ष नलिई सबै पार्टीहरूसँग समान व्यवहार गर्दै निष्पक्ष रूपमा निर्णयहरू गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । निर्वाचनमा हुने विकृत कार्यहरु रोक्न निर्वाचन आचारसंहिता ठोस रुपमा कार्यन्वयन गराउन जनमत पार्टीले माग गरेको छ ।