एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शनिबार नेपाली काँग्रेस र जसपाका नेता कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका छन् । शहिदनगर नगरपालिकाको वडा नम्बर ७ धबौली ताराटोलस्थित शनिबार दिउँसो भेटघाट कार्यक्रमको क्रममा धबौलीको चर्चित नेताहरुलाई नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रमा उनले प्रवेश गराएका हुन् ।
सो क्रमममा धबौलीमा चिरपरिचित नेपाली काँग्रेसका दिलीप मण्डल, जसपाका सुरेश मण्डल, डा. सरोज कुमार मण्डलसहित अन्य व्यक्तिहरुलाई माओवादीमा प्रवेश गराएको हो । सोही क्रममा धबौलीबाटै भुली पासमान, अजित मण्डल , फुल कुमारी पासमान , करिया पासमान, बिपती साह, नथु साह, रामचन्द्र साह, दिलिप मण्डल लगायतका नेता कार्यकर्ताहरुलाई मेयर बरबरियाले माओवादी पार्टीमा स्वागत गरेका थिए ।
धबौली जसपाका प्रदेश साँसद शैलेन्द्र यादवको पैतृक गाउँ हो । मेयर बरबरियाले उनीहरुलाई प्रवेश गराउँदै दलित, उत्पीडनमा परेका, हेपिएका वर्गको उत्थान र राज्यको मूलधारमा ल्याउनको लागि माओवादी पार्टी मात्र अग्रसर रहेको बताउँदै पार्टीमा प्रवेश र स्वागत गरेका हुन ।
वडा कार्यालय समुदघाटन
एता धनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हट्ठिपुर हरबाडाको नव– निर्मित वडा कार्यालय उदघाटन समेत गरिएको छ । नगरप्रमुख उदय कुमार बरबरीयाको कर–कमल बाट वडा कार्यालय समुदघाटन गरिएको वडा अध्यक्ष रामएकवाल मन्डलले बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव लगायत नगरपालिकाका सम्पूर्ण कर्मचारी, राजनीति दलका प्रतिनिधि–कार्यकर्ता र हजारौं जनसमुदायहरूको उपस्थिति रहेको थियो ।