एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गुणस्तरीय चिकित्सा सेवा मात्र नभई चिक्त्सिा शिक्षाको आधार निर्माण गर्ने काम गरेको भन्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशंसा गरेका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आफनो एक वर्षको छोटो यात्रामा कोभिड १९ को उपचार, गम्भिर प्रकृतीका रोगहरुको पहिचान, उपचार र परामर्श तथा चार विषयमा अध्यापनको थालनी गर्न सक्नु प्रतिष्ठानको सफलता रहेको भन्दै उपकुलपती डा. रामकेवल साहलाई बधाई दिएका छन् ।
मधेश प्रदेशलाई मेडिकल प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुडकिलोको रूपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढिरहेको उनको तर्क छ । असमान्य परिस्थितीका बाबजुद पनि कोरोना कहरका बिच कोरोना विशेष अस्पतालको सञ्चालन पनि प्रमुख काम रहेको उनको तर्क छ । विषम परिस्थितिमा शुरु भएको प्रतिष्ठान एक वर्षभित्रै ४ वटा विषयमा स्नातक तहको अध्ययन अध्यापन शुरु गर्नुका साथै विशेष कोभिड अस्पतालको सञ्चालन र विशिष्टीकृत सेवा सञ्चालन सकारात्मक र सफता रहेको उनको तर्क छ ।

प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकहरूको प्रयासलाई सह्राना गर्दै मुख्यमन्त्री राउतले आगामी दिनमा प्रतिष्ठानलाई उद्देश्य प्राप्तिको दिशामा अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे । प्रदेश सरकारले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियान अन्तर्गत सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापना भएको र वीरगञ्जमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको तयारी अन्तिम चरणमा रहेको उनले जानकारी गराएका छन् । कार्यक्रममा जानकारहरुले प्रतिष्ठानले गर्नुपर्ने सुधार र वाँकी कामहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वास्थ्य उपचार, अध्यापन र कोरोना जस्तो महामारीमा पनि प्रदेशका जनताको साहाराको रुपमा स्थापित प्रतिष्ठान यसरी नै प्रगती रहोस भन्ने कामना गरेका छन् ।
प्रतिष्ठानका कुलपती डा. राम केवल साहले सुरुवाती एक वर्षे कार्यकालमा आफुले सक्दो गरेको बताउदै प्रतिष्ठानलाई सकारात्मक रुपमा लिएर सवैको सहयोग भए प्रतिष्ठान गौरवको योजना स्थापित हुने बताए । मुख्यमन्त्री राउतले आफू कुलपति समेत रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान हाल सञ्चालनमा रहेको स्थानबाट अन्यत्र नसर्ने दाबी गरे । गुठी मातहत रहेको जग्गा हाल मणिपालले लिजमा लिएको भए पनि जग्गा प्राप्तिको प्रक्रिया प्रदेशले शुरु गरिसकेको हुँदा प्रतिष्ठान अन्यत्र सर्ने कुनै सम्भावना नरहेको बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह, प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, सुरिताकुमारी साह, चमेलीदेवी दास लगायतका उपस्थिति रहेको थियो ।