एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण सहयोगको रुपमा एमसीसी भएकाले सबै दल मिलेर पारित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । काँग्रेसका नेता निधिले स्थानीय चुनाव लक्षित प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं. ३ को कार्यकर्ता भेलाको आज जनकपुरधाममा सम्बोधन गर्दै विगतमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, अहिलेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल नेकपा एमालेमा रहेका बेलामा एमसीसी पास गर्नुपर्ने पक्षमा रहेकाले जसरी पनि एमसीसी पास गर्नुपर्ने बताए ।
उनले मुलुकको आर्थिक विकासका लागि ठूलो रकम भएकाले यसलाई अनावश्यक रुपमा राजनीतिकरण गर्ने काम भइरहेको बताउँदै एमसीसीलाई पास गर्दा मुलुकको कुनै प्रकारको अहित नगर्ने बरु विकासमा ठूलो मद्दत पुग्ने भएकाले सबै दलहरूले संसद्बाट पास गर्नुपर्ने धारणा राखेका छन् । काँग्रेसका नेता निधिले न्याय क्षेत्रमा भएका विकृति एवं विसङ्गतिको अन्त्य गर्नका लागि नै प्रधान न्यायाधीशमाथि महाअभियोग लगाउने काम भएकाले यसमा प्रमुख प्रतिपक्षी दलको साथ र सहयोग आवश्यक भएको बताए ।

उनले दुई तिहाइबाट पास गर्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षी दलको साथ र सहयोग बिना सम्भव नभएको बताउँदै न्याय क्षेत्रको शुद्धीकरणका लागि महाअभियोगको प्रस्ताव पारित हुनुपर्ने धारणा राखेका छन् । नेता निधिले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई वडादेखि पालिकासम्म विजयी गराउनका लागि कार्यकर्ताहरूलाई सक्रियता पूर्वक लाग्नका लागि आग्रह गरेका छन् ।
मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं संसदीय दलका नेता रामसरोज यादवले नेपाली काँग्रेसलाई अगामी चुनावमा मधेस प्रदेशमा एक सबैभन्दा ठूलो पार्टी हुने दाबी गरेका छन् । नेपाली काँग्रेस क्षेत्र नंं ३ का क्षेत्रीय सभापति धिरेन्द्रकुमार निधिको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यकर्ताहरूका बीचमा अन्तरक्रिया पनि भएको छ ।