एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ३ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डको नक्कली खेलका कारण एमसीसीको बिबाद सृजना भएको बताएका छन् । जनकपुरधाममा नेकपा एमालेले स्थानिय तह निर्वाचन केन्द्रित आयोजना गरेको मधेश प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रचण्डले पार्टीका नेता कार्यक्रता, गठबन्धन तथा विदेशी शक्तिलाई फरक फरक कुरा गरेर भ्रम र नक्कली खेल खेलिरहेको बताएका छन् ।
उनले एमसीसीलाई प्रचण्डले गिजोल्ने काम गरेको भन्दै निन्दा गरेका छन् । पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले गठबन्धनलाई अप्राकृतीक भनेका छन् । संघियता पटकै नरुचाउने चित्र बहादुर केसी, परम्परागत संसदिय प्रणालीको वौकालत गर्ने र प्रत्यक्ष कार्यकारी प्रमुखको मांग गर्ने सबै गठबन्धनमा रहेकाले त्यो गठबन्धन विचित्रको रहेको उनको टिप्पनी छ ।
नेपालको राजनितिमा अहिले मुख्य दुई धार रहेकोमा एकको नेतृत्व एमालेले गरिरहेको र अर्कोको नेतृत्व कुनै एकले नभई एमाले विरोधी सबैले गरिरहेको उनको तर्क छ । सिमा, राष्ट्रिय स्वाधिनता, राष्ट्रियताको सवालमा एमाले कसैसंग सम्झौता नगर्ने उनले बताए । एमसीसी देउवा र प्रचण्डकै सरकारको पालामा स्वीकृत भएको भन्दै उनले एमालेको पालामा संसदमा टेवल मात्र भएको बताए ।