एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ३ : देशमा सात मध्ये मधेशमा पृथक सरकार छ । अन्य प्रदेशहरुमा मुख्य ठुला दलहरुको नेतृत्वमा सरकार छ भने मधेशमा मधेश केन्द्रित दल जसपाले चार वर्ष सम्म सरकारको नेतृत्व गर्न सफल भएका छन भने अप्रत्यासित केहि नभए वाँकी एक वर्ष पनि उनैले चलाउने सम्भावना छ । एउटै नेतृत्वले चार वर्ष चलाएको देशको एक मात्र मधेश प्रदेश सरकारको चार वर्ष पुरा भएको अवसरमा प्रस्तुत छ, मुख्यमन्त्री लालबाबु राउतका उपलब्धीहरु
उनीहुन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत जो देशको एकमात्र यस्ता मुख्यमन्त्री जस्ले लगातार चारवर्ष सम्म सरकारको नेतृत्व गर्न सफल भएका छन् । सरकारको चार वर्ष पुरा भएको अवसरमा मंगलवार मुख्यमन्त्री राउतले पत्रकारहरुलाई बोलाएर आफना कार्यकालका उपलब्धीहरुको सारांश प्रस्तुत गरेका छन् । उनले प्रदेशको नाम र राजधानी तोक्न सक्नु ठुलो उपलब्धी मानेका छन भने बेटी पढाउ बेटी बचाउ, महिलालाई पचास प्रतिशत आरक्षण, दलित सश्क्तीकरण, प्रदेश लोकसेवा आयोगको गठन र सक्रियता, मधेश स्वास्थ्य विज्ञान प्रतिसष्ठानको गठन र चार विषयको अध्यापन सुरु हुनुलाई समेत प्रमुख उपलब्धी मानेका छन् ।
मुख्यमन्त्री राउतले प्रदेशमा सुशासनका लागि प्रदेश जनलोकपाल, आर्थिक स्रोतको सदुपयोग र उचित योजनाका लागि निति आयोगको गठन, बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण, छोरी बिमा र ल्यापटप वितरण, भौतीक पुर्वाधार तर्फ प्रत्येक आर्थिक वर्षमा प्रत्येक प्रदेश क्षेत्रमा पाँच किलो मिटर कालोपत्रे सडक सहितका कामहरु हुनुलाई पनि सरकारको थप उपलब्धीहरुका रुपमा प्रस्तुत गरेका छन् ।
मुख्यमन्त्री राउतले आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल, प्रदेश जनलोकपाल जस्ता दर्जनौ निकायहरु गठन भएपनि ति निकायहरु काम गर्न नसक्नुमा कर्मचारी अभाव रहेको त्यसमा संघिय सरकारको असहयोग रहेको बताए । उनले एक सप्ताह भित्र नियमावली बनाएर कर्मचारी आपुर्ती गरिने समेत दावी गरेका छन् ।
अख्तियार तर्फ संकेत गर्दै उनले आफुले गलत गरेको भए कुनै पनि निकायलाई अनुसन्धानको अधिकार रहेको बताए ।
यस चार वर्षको कार्यकालमा मधेश सरकारले एक सहयात्री दल फेर्दै तिन सहयात्री दल कांग्रेस, माओवादी र नेकपा समाजवादी थपे । दुईपार्टी सहित सुरु भएको सरकार पछि एकै पार्टी जसपाको मात्र सरकार पनि हुन सफल भयो । यस बिचमा प्रदेश सरकारले करिव चार दजर्न एन कानुनहरु पास गर्न सफल भएका त छन तर त्यसको कार्यन्वयन पाँच प्रतिशत पनि हुन सकेको देखिदैन ।