एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ : मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीमा परेर तीन जनाको मृत्यु भएको छ । हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए ।
त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका—१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मधेशसहित देशका विभिन्न स्थानमा आज हल्कादेखि मध्यम वर्षा भएको छ । अत्यधिक हावासँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र हिमपातसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ । साथै, गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।