एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभेद अन्त्य हुन नसकेको बताएका छन् । धनुषाको लक्ष्मीनियाँमा सेन्टरल अस्पतालको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले भाषा, रुप, संस्कृति, जातजाति र समुदायका आधारमा हुने विभेद अझै अन्त्य हुन नसकेको बताए । उनले देशमा संघीयता आए पनि प्रदेशहरूमा स्वशासन स्थापित हुन नसकेको बताए ।
अध्यक्ष यादवले आर्थिक विकास र समृद्धिबिना गरिबी अन्त्य हुन नसक्ने पनि बताए । प्रदेशको राजधानीमा अत्याधुनिक अस्पतालका रूपमा सेन्टरल अस्पताल स्थापना भएकोमा खुशी व्यक्त गर्दै उहाँले मानसिक र शारीरिक रूपमा व्यक्ति स्वस्थ भए मात्र मुलुकको निर्माणमा भूमिका निर्वाह हुन सक्ने पनि बताए ।

अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र रोगजार मावन जीवनका आधारभूत आवश्यकता रहेको पनि बताएका छन् । कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानन्द्रकुमार यादवले कुनै बेला यो क्षेत्र शिक्षाको हबका रूपमा रहे पनि राज्यको खराब नीति र नियतका कारण पछाडि परेको बताए ।
कार्यक्रममा सेन्टरल अस्पतालका सञ्चालक विजयकुमार झाले यो अस्पतालबाट गुणस्तरीय सेवा दिने बताए । अस्पताललाई प्रदेशकै सबैभन्दा ठूलो अस्पताल बनाउनेसमेत उनले दाबी गरेका छन् । यस अघि एमालेमा रहेका सञ्चालक झा जसपामा प्रवेश समेत समेत गरेका छन् ।