एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० : महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गर्नुभएको छ । सोमबार अध्यक्ष चौधरीले पत्रकार सम्मेलन गरी गाउँपालिकामा कुनै अनियमितता नभएको दाबी गर्नुभएको हो ।
उहाँले सर्वदलीय संयुक्त आन्दोलन परिचालन समितिमा आबद्ध रहेकाहरूले निराधार आरोप लगाइरहेको बताउनुभयो । आफ्नो कामबाट यहाँका जनता खुशी रहेको उहाँको दाबी छ । समितिमा रहेका दलका नेताहरूले पिपराको निर्माणका लागि नभएर आफ्नो स्वार्थ पूर्तिका लागि विरोध गर्दै आएको पनि आरोप लगाउनुभयो ।

आन्दोलन परिचालन समितिका सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष अरुण ठाकुरले गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिकाका लागि आउने पदहरू आफ्नो परिवारजनलाई बाड्दै आएको आरोप लगाउनुभयो । साथै, गाउँपालिका लागि आउने योजनाका बारे कुनै जानकारी नदिने गरेको पनि आरोप लगाउनुभयो ।
समितिले गाउँपालिका कार्यालयको प्रशासनिक भवनमा तालाबन्दी गर्दै आएको छ । गाउँपालिकामा भ्रष्टाचार, अनियमितता, अपारदर्शिता भएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । उनीहरूले गाउँपालिका अध्यक्ष विक्रम चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको पुतलासमेत जलाएका थिए । समितिले यसअघि, मशाल जुलुस पदर्शन गर्नुका साथै गाउँपालिका कार्यालयको मुल गेटमा ६ दिनसम्म धर्नासमेत दिएको थियो ।