एसपी रिपोर्टर
जनकपुरधाम, माघ ९ : पुरानो रेल्वे कर्मचारी संघर्ष समितिले हाल तालिम लिइरहका ज्यालादारी कर्मचारीहरूको नियुक्ति बदरको माग गर्दै मधेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल रेल्वेका पुराना कर्मचारीले आइतबार जनकपुरधाम रेल्वे स्टेशनबाट निकालेको जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै मधेश भवन पुगेर मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले गैरकानुनी तरिकाले आफूहरूलाई हटाएर आफ्ना मान्छेहरूलाई गुपचुप तरिकाबाट तालिम दिइरहेको उनीहरूको आरोप छ । उनीहरूले तालिम बन्द गर्नुपर्ने, पुरानो तालिम प्राप्त कर्मचारीहरूलाई बहाली गर्नुपर्ने, पहिलाको पारिश्रमिक भुक्तानी गर्नुेपर्नेलगायत माग गरेका छन् ।
महाप्रबन्धक झाले ६१ जनालाई जनकपुरधामस्थित मत्स्य तालिम केन्द्रमा तालिम दिन सुरु गरेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले अहिलेको भर्ना बदर गरी आफूहरूलाई नियुक्त नगरेसम्म चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् । रेल्वेका पुराना कर्मचारीलाई कामकाजमा खटाउने मन्त्रिपरिषद्को निर्णय बमोजिम तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले २०७८ साल वैशाख ४ गतेबाट उनीहरूलाई ज्यालादारीमा नियुक्त गरेका थिए ।
वैशाख ८ गतेबाट उनीहरूलाई भारतबाट प्रशिक्षक मगाएर तालिम पनि दिइएको थियो । तर, नयाँ महाप्रबन्धक निरञ्जन झा आएपछि २०७८ साल भदौं १८ गते सूचना निकालेर उनीहरूको हाजिरी रोक्का गरिदिएका थिए । झाले रेल्वेका पुराना ६५ सहित १ सय ५१ जनाको हाजिरी रोक्का गरिदिएका थिए । तर, अहिले आएर ६१ जनालाई भर्ना गरी तालिम दिन सुरु गरिएपछि पुराना कर्मचारीहरू आन्दोलित भएका हुन् ।