एसपी रिपोर्टर
जनकपुरधाम, माघ ६ : बुधवार रौतहटको गौरमा भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिएको अभिव्यक्तीको सवत्र विरोध भइरहेको छ । गौरमा जनमत पार्टीले गरेको अवरोधको प्रतिउतरमा आक्रोसित मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सिकेराउतलाई धम्की दिदै आफुसंग टकराए गौर राइसमिलको घटना दोहराइदिने भन्नै दिएको अभिव्यक्ती विवादमा तानिएको छ ।
बुधवार १५ औं बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित सभालाई सम्बोधन गर्दै संघिय सरकारकी भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई ज्यान मार्ने धम्की आशयको भाषण गरेपछि त्यसको विरोध भइरहेको छ । मन्त्री यादव गौरमा कार्यक्रममा सहभागि हुने क्रममा जनमत पार्टीको किसान आन्दोलनको क्रममा भएको विरोधमा आक्रोस व्यक्त गर्दै मन्त्री यादवले भने थिइन, ‘डा. साव तुफानसंग टकराउने कोशिस नगर्नोस, नभए गौरको राइस मिलमा भएको घटना दोहराइ दिन्छु ।’
गौर नरसंहारलाई नभुल्न धम्की दिदै मन्त्री यादवले डा. राउतलाई घाँसपात र हरियो सागसब्जी खाएको बैज्ञानिक भन्दै गाई र भैसीको दुध खाएको आफुहरुसंग न भिड्न आशयको चेतावनीपुर्ण अभिव्यक्ती दिएकी छन् । उनले अगाडि भनेकी छिन, ‘डा. साव तपाईको चिर्पट र फरठ्ठा हाम्रो लाठीको सामने टिकदैन ।’
मन्त्री यादवको सो भाषणलाई दलहरुले अपराधिक र गैरसंसदीय भनेको छ । एमालेका सचिव तथा पुर्व मन्त्री रघुविर महासेठले संसदिय प्रणालीमा कुनै पनि दल र नेतालाई धाकधम्की सहितको अभिव्यक्ती मञ्च र सभाबाट आउनु निन्दनिय रहेको भन्दै जनतासंग माफी माग्नु पर्ने बताए । लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश नेता जितेन्द्र सोनलले कुनै मञ्च प्रयोग गरि कुनै पनि नेतालाई मार्ने मर्ने किशिमको धम्की दिनु संसदिय मर्यादा विपरित रहेको बताउदै यस्तो भाषण गर्ने छुट कसैलाई हुन नहुने बताए ।
सोनलले आफुहरु जंगली राज्यमा नभई संसदिय प्रणालीमा रहेको नबिर्सन सबै नेताहरुलाई आग्रह गरेका छन् । मन्त्री यादवको गौरको भाषणको मधेशमा व्यापक विरोध भइरहेको छ । एता यस विषयमा एसपी खवरसंग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्री यादवको भाषणले उनैले गौर नंरसंहारको घटना घटाएको स्वीकार गरिएको र मधेशमा अपराधिक हिंसात्मक गतिविधी गर्न उद्दत देखिएकाले मन्त्री पदवाट बर्खास्त गर्नुपर्ने बताएका छन् ।
साथै उनले गौर नरसंहार घटनाका फरार अभियुक्तहरुलाई पक्राउ गरि कानुनी कारवाहीको दायरामा ल्याउन समेत मांग गरेका छन । उनले मन्त्री यादवको अभिव्यक्ती चरम अपराधिक किशिमको रहेको आरोप समेत लगाएका छन् । अन्य दलका नेताहरु समेत गणतन्त्रमा मन्त्री र जिम्मेवार पदमा आसिन व्यक्तीको विरोध स्वभाविक रहेको बताउदै आक्रोसमा सयंमता गुमाउन नहुने बताइरहेका छन् । देशमा निर्वाचन नजिकिदै गर्दा मधेशमा आक्रोस र निषेधको राजनिति सुरु भएसंगै सुरक्षा संवेदनशिलता समेत बढदै गएको छ ।