एसपी रिपोर्टर
सप्तरी, माघ ५ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकार बनाउने चाहना पूरा भएको बताएका छन् । मधेश बलिदानी दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस आन्दोलनको समयमा नेपाल सरकार लेखेको मेटाएर मधेश लेखिएको स्मरण गरे । त्यस बेलादेखि नै मधेश प्रदेश होस् र मधेस सरकार बनोस् भन्ने चाहना रहेको बताउदै उनले अहिले त्यो चाहना पूरा भएको बताए । उनले प्रदेशको नाम मधेस राख्न सहयोग गर्ने सबै सांसदलाई धन्यवाद दिएका छन् ।
आफ्नो दल जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी मिल्दा पनि दुई तिहाई नपुगेको भन्दै उनले नेपाली कांग्रेस, एकीकृत समाजवादी र एमालेका सांसदले पनि यसमा सहयोग गरेको भन्दै मधेस नामाकरण भएपछि उहाँहरुले जय मधेश समेत भन्नुभएकाले उहाँहरुप्रति आभार र उच्च सम्मान प्रकट गर्दछु उनले धन्यवाद दिदै भनेका छन् । मुख्यमन्त्री राउतले सबभन्दा पहिले आफूहरुले नै प्रहरी ऐन बनाएपनि कार्यान्वयन गर्न नसकिएको बताए ।
संघीय सरकारले संविधान अनुसार प्रहरीको समायोजन गर्न नसक्दा यो ऐन कार्यान्वयन हुन नसकिरहेको उनले बताए । यस बिषयमा सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको बताउँदै मुख्यमन्त्री राउतले सर्वाेच्चको आदेश लगत्तै प्रहरी समायोजन भएर प्रदेशको आफ्नै प्रहरी हुने बताए । उनले प्रहरीसहित प्रदेश सरकारका सबै सेवामा महिलाको ५० प्रतिशत सहभागितालाई अनिवार्य गरिसकिएको बताए ।
प्रथम शहिद महतोको शालिकमा माल्यार्पण
१५ औं बलिदानी दिवसको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् । मुख्यमन्त्री राउतले बुधबार सिरहाको लहानस्थित सहिद महतोको सालिकमा माल्यार्पण गरेका हुन् ।
मधेश आन्दोलनको क्रममा महतोले शहादत प्राप्त गरेका थिए । उनी मधेश आन्दोलनका प्रथम सहिद हुन् । मधेश प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदान दिवस मनाउने गरेका छन् । मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहीदहरुको सम्झनामा पहिलोपटक सिरहाको लहानमा, दोस्रोपटक पर्साको वीरगञ्जमा र तेस्रोपटक धनुषाको जनकपुरधाममा बलिदानी दिवस मनाएको मधेस सरकारले यसपटक भने सप्तरीको सदरमुकाम राजविराजमा मनाएको छ ।