एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : प्रदेश २ ले नाम र राजधानी पाएको खुसीमा खुसीयाली मनाइएको छ । प्रदेशसभाको आठौ अधिवेशनको आठौं बैठकबाट सोमवार दुई तिहाई भन्दा बढी मतका साथ प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएसंगै जनकपुरधाममा सांसद र नेताहरुलाई सम्मान गर्नुका साथै दिपावली गरिएको छ ।
नाम र राजधानी पारित हुने वितिकै प्रदेशसभा स्थल पुगेर जनकपुरधामको नागरिक समाजले मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव सहित उपसभामुख र सांसदहरुलाई फुलमाला, अविर र गम्छाका साथ सम्मान गरेका छन् । उनीहरुले मुख्यमन्त्री, सभामुख, उपसभामुख सहित सांसदहरुलाई लड्डु खुवाएर धन्यवाद दिएका छन् । प्रदेशसभा स्थलमा मुख्यमन्त्री लालबाबु राउतले मधेशी जनताको मधेश प्रदेशको सपना साकार भएको प्रतिक्रिया दिएका छन् ।
यसै बिच खुसीहालीमा जनकपुरधामको जनकचौकमा आयोजित दिपप्रज्वलन कार्यक्रममा पुगेका जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश स्थापना भएकोमा खुसी व्यक्त गर्दै शहिदको सपना र सहादतको सम्मानमा पहिलो कदम र सफलता भएको बताउदै धेरै काम गर्न वाँकी रहेको बताए । उनले आठैजिल्ला सहि तर पहिचान मधेश भएको बताउदै खुसी व्यक्त गरेका छन् । जसपा नेतृ तथा मन्त्री रेणु यादवले मधेशी शहिदको सपनाको पहिलो चरण पुरा भएको बताउदै यसमा सहभागिताका लागि सम्पुर्ण सांसदलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
साथै जनकपुरधामवासीले समेत दिपावली मनाएको छ । जनकपुरधाम राजधानी र मधेश प्रदेश भएकोमा खुसी व्यक्त गर्दै सर्वसाधारणहरुले पसल तथा घरमा मैनवती बालेर दिपावली मनाएको छ । यसैबिच मेधश प्रदेश सरकारले नाम र राजधानी पारित भएको खुसीमा मंगलवार प्रदेश भर सार्वजानिक विदाको घोषणा गरेको छ । साथै एमालेको युवा संघले समेत रेल्वे स्टेशनमा दिपप्रज्वल गरि जनकपुरधाम राजधानी र मधेश प्रदेश भएकोमा खुसी मनाएको छ ।