एसपी रिपोर्टर
जनकपुरधाम, माघ २ : नेपाल रेल्वेमा भइरहेको अवैधानिक नियुक्ती प्रयास विरुद्व विभिन्न राजनितिक दल र युवा एवं विद्यार्थीहरु विरोधमा उत्रिन थालेको छ । नेपाल रेल्वेको रेल किनेर ल्याएको तत्कालिन सरकारको नेतृत्वकर्ता नेकपा एमालेकी नेतृ जुली महतोले हाल रेल्वेमा भइरहेको गलत क्रियाकलापको भत्र्सना गरेकी छन् ।
एमालेको सरकारले विधिवत पक्रिया मिलाएर सम्बन्धित निकाय मार्फत आवेदन आहवान गरेको र यस अघि रेल्वेमा काम गरिसकेका अनुभवी कर्मचारीहरु पुनः काम गर्न आग्रह गरि ल्याएको र तालिम दिएको भएपनि दक्ष जनशक्ती हुदाहुदै अहिलेको भर्ना र तालिम निन्दनिय रहेको पुर्व मन्त्री महताको भनाई छ । उनले अविलम्ब पक्रिया रोक्नु पर्ने मांग समेत गरिन ।
एता प्रदेश २ का भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री समेत रहेका कांग्रेस प्रदेश २ का नेता रामसरोज यादवले रेल्वे कम्पनीमा ६० कर्मचारीलाई भित्रभित्रै गरिएको नियुक्ती गैरजिम्मेवार रहेको बताए । उनले सरकार जुनसुकै दलको भएपनि भित्रभित्रै नियुक्त गर्नु गैरउचित रहेको भन्दै त्यस विरुद्व आन्दोलन गर्नुपर्ने बताए ।
उनले प्रक्रिया पुरा गरी कर्मचारी नियुक्ति गर्नुपर्ने भन्दै कर्मचारी भर्ना लोकसेवा आयोगले गर्नुपर्ने पनि बताएका छन् । रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले आर्थिक प्रलोभनमा परेर गुपचुप कर्मचारी नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । महाप्रबन्धक निरञ्जन झाले कर्मचारी गुपचुप भर्ना गरी तालिम सुरु गरेपछि विगतमा हटाइएका कर्मचारी तथा लोकसेवामा आवेदन दिएकाहरु आन्दोलित छन् । उनीहरुले प्रक्रिया पुरा नगरी नियुक्त गरिएका कर्मचारी हटाउन माग गरेका हुन् ।