एसपी रिपोर्टर
जनकपुरधाम, पुष ३० : किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा महा¥याली निकालेको छ । जनमत पार्टीले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लाहरूमा ¥याली निकालेको हो । सिरहामा निकालिएको ¥यालीमा पार्टीका अध्यक्ष डाक्टर सीके राउत पनि सहभागी भएका छन् ।
त्यसैगरी जनकपुरधाममा पनि ¥याली निकालिएको छ । रामानन्द चौकबाट निकालिएको ¥याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । नगरपरिक्रमा पश्चात ¥याली जनक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले अहिलेका सत्ताधारी दलहरू किसान विरोधी रहेको आरोप लगाउनुभएको छ ।
उहाँले अन्नदाताहरूलाई पीडा दिँदै आएका यी दलहरूलाई अब किसानहरूले पनि नछाड्ने चेतावनी दिनुभयो । किसानहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने पनि स्पष्ट पार्नुभयो । त्यस्तै, जनमत पार्टीकी सचिव अनिता साहले किसानलाई निरुत्साहित गर्ने काम मात्र सरकारले गर्दै आएको बताउनुभयो । उहाँले सरकारको गलत नियत र नीतिका कारण किसानका सन्तानहरू विदेश पलायन हुन बाध्य भएको पनि बताउनुभयो ।
त्यसैगरी, जनमत पार्टीका नेता बीपी साहले जनमत पार्टी जनताका मागहरू सम्बोधन गर्नका लागि स्थापना गरिएको बताउनुभयो । किसानहरूलाई पेन्सनको व्यवस्था हुनुपर्ने पनि उहाँको माग छ । ¥यालीमा सहभागीहरूले किसानहरूमा माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन् । जनमत पार्टीले ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको छ ।
उनीहरूले किसानका लागि पेन्सन, बालीनालीको स्वतः वीमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बालीक्षतिपूर्ती वापत् राहत, फसलको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका छन् ।