एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० : भारतीय अधिकारीहरूले जनकपुर–जयनगर रेल्वे ट्रयाकको निरीक्षण गरेका छन् । मंगलबार जनकपुधाम आएको भारतीय रेल्वे अधिकारीसहितको टोलीले ट्रयाकको निरीक्षण गरेको हो । ट्रयाक परीक्षणका लागि भारतबाट ‘निरीक्षण रेल्वे’समेत आएको थियो । जयनगरबाट आएको रेल्वे कुर्था स्टेशनसम्म पुगेको थियो ।
निरीक्षणमा आएको भारतीय रेल्वे बोर्डका कार्यकारी निर्देशक डाक्टर मनोज सिंहले रेल सञ्चालनका लागि प्राविधिक रूपमा अब कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो । निरीक्षणका क्रममा आफूहरूले सबै कुरा ठिकठाक रहेको पाएको बताउनुभयो । उहाँले रेलका क्लिपहरू चोरी हुने गरेको प्रति असन्तुष्टिसमेत जनाउनुभयो ।
कार्यकारी निर्देशक सिंहले रेल योजनामा हालसम्म भारत सरकारले ७ करोड भारतीय रुपैयाँ लगानी गरिसकेको पनि जानकारी दिनुभयो । उहाँले कर्मचारी भर्ना र तालिमहरू पूरा भएपछि रेल चल्ने विश्वास पनि व्यक्त गर्नुभयो । त्यस्तै, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि आवश्यक धेरै काम पूरा भएको र रेल अध्यादेश पनि आइसकेकाले अब छिट्टै रेल चल्ने दाबी गर्नुभयो ।
महाप्रबन्धक झाले रेलको भौतिक संरचनाको सुरक्षामा सबैको सहयोग आवश्यक रहेको पनि बताउनुभयो । उहाँले रेल ट्रयाकको क्लिप चोरी हुने गरेकोप्रति दुःख व्यक्त गर्दै रेल सार्वजनिक सम्पति रहेकाले यसको संरक्षणमा सबैलाई ध्यान दिन आग्रह गर्नुभएको थियो ।