एसपी रिपोर्टर
जनकपुरधाम, पुष १५ : अगामि माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ । जनकपुरधाम स्थित निर्वाचन आयोग प्रदेश २ को कार्यालय परिषरमा राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय समुदघाटनसंगै सञ्चालनमा ल्याइएको छ ।
राष्ट्रियसभा निर्वाचन प्रदेश २ का निर्वाचन अधिकृत तोकिनुभएका धनुषा जिल्ला अदालतका न्यायधिश ब्रजेश प्याकुरेलले कार्यालयको समुदघाटन गरेका छन् । देशमा हुने यस्ता निर्वाचनले नेतृत्व प्राप्त मात्र नभई लोकतन्त्र समेत मजबुत हुदै जाने भएको भन्दै अधिकृत प्याकुरेलले निर्वाचन सफल बनाउन सबैको सहयोग आवयश्क रहेको बताए ।

निर्वाचन आयोगले पुष १७ गते मतदाता नामावली प्रकाशन, पुष २० गते मनोनयन, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान तथा माघ १२ गते निर्वाचनको समय तालिका सार्वजानिक गरिसकेको छ । प्रदेश २ मा खाली हुने महिला र अन्य गरि दुई सदस्यका लागि निर्वाचन हुने छ ।
निर्वाचनमा प्रदेश सांसद १ सय ४ जना र स्थानिय तहका प्रमुख र उपप्रमुख २ सय ६८ जना मतदाता रहेका छन् । प्रदेश सांसदको एकजनाको मतभार ४८ हो भने स्थानिय तहको एक मतदाताको मतभार १८ रहेको छ । जनकपुरधाम स्थित महेन्द्र नारायण सांस्कृतीक केन्द्रमा माघ १२ गते मतदान र मतगणना दुवै हुने निर्वाचन अधिकृत प्याकुरेलले बताए । कार्यक्रममा निर्वाचन कार्यालय प्रदेश २ जनकपुरधामकी प्रमुख पुष्पा कुमारी झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, सश्स्त्र प्रहरी र अनुसन्धानका एसपी सहितको उपस्थिती थियो ।